बाराउद्योरणस्थित आगलागी भएको पूर्वारी टोल । यहाँका स्थानीय अहिले यस्तै टाँगिएको त्रिपालमुनी बसेर दैनिकी गुजारिरहेका छन् । (तस्बीर : उज्यालो अभियान)
बाराउद्योरण, ०२ जेठ – आगलागीबाट घर जलेर नष्ट भएका पीडित पानी पर्ने र हावाहुरी चल्ने मौसम सुरु भएसँगै थप समस्यामा परेका छन् ।
गएको वैशाख २० गते भएको भिषण आगलागीबाट बस्ती नै सखाप भएको विष्णु गाउँपालिका–१, बाराउद्योरणस्थित पूर्वारी टोलका ६० परिवार वर्षाको याम सुरु भएसँगै अप्ठेरोमा परेका हुन् । वैशाख अन्तिम साता हावाहुरीसहित दुई पटक भएको वर्षाले स्थानीय त्रसित बनेका छन् ।
आगलागीमा परेर पूर्णरुपमा घर जलेर नष्ट भएको परिवार अहिले राहतमा पाएको त्रिपालमुनी बसेर रात काटिरहेका छन् । बस्तीकी सीतादेवी पटेलले तत्काल पेट भर्नका लागि राहतमा चामल, दाल, नुन, तेलसहितका खाद्य सामग्री पाएपनि बसोवासका लागि घर नै नहुँदा असाध्य पीडा भइरहेको दुःखेसो पोखिन् ।
अर्का आगलागी पीडित शत्रुधन राउतले आगलागीबाट घरसहित अन्नपात, कपडा सबै सरसामग्री जलेर खरानी भइ त्रिपालमुनी बसिरहँदा वर्षाद् सुरु भएसँगै चिन्ता थपिएको बताए । पीडितलाई रातको समयमा लामखुट्टेले सताउने गरेको छ भने साँप, कीराको पनि उत्तिकै डर छ ।
त्रिपालमुनी नै खाना पकाएर खान गाउँपालिकाले प्रत्येक परिवारलाई ग्याँस चुल्हो र सिलिण्डर वितरण गरेको छ ।
विष्णु गाउँपालिकाका अध्यक्ष जवाहारलाल राय यादवले पीडितलाई तत्कालका लागि खाद्यान्नको कुनै समस्या नरहे पनि बस्ने बासको समस्या रहेको बताए । उनले यो वर्ष बजेट खर्च भइसकेकाले कुनै उपाय नभए नयाँ बजेटमा पीडितका लागि आवास निर्माण गर्न पहल गरिने बताए ।
जिल्लामा आगलागीबाट प्रभावित हरिपूर्वा, बसबरिया, धनकौललगायत ठाउँका पीडितको पनि बिचल्ली नै भइरहेको छ ।