हरिवन, ०१ जेठ – सर्लाहीको हरिवन नगरपालिकाले आज आफ्नो १० औँ नगर स्थापना दिवस मनाएको छ ।
मेयर रमेश बुढाथोकी (कमल) को अध्यक्षता तथा प्रदेशसभा सदस्य जवाहारलाल कुशवाहाको प्रमुख आतिथ्यतामा नगर स्थापना दिवस मनाइएको हो । सो अवसरमा हरिवन ११ स्थित बासाटोलमा नगरपालिकाको कार्यालय भवन निर्माण गर्न जग्गा प्रदान गर्ने र कार्यालयसम्म जाने बाटोका लागि पनि जग्गा दिने गर्ने व्यक्तिहरुलाई कदर–पत्रसहित सम्मान गरिएको छ ।
त्यस्तै, नगर स्थापना दिवसकै अवसरमा आज नै आयोजित निवन्ध र कवितावाचन प्रतियोगिताका बिजेता विद्यार्थीलाई पुरस्कार वितरण गरिएको कार्यक्रम संचालक तथा नगरपालिकाको शिक्षा अधिकृत रुस स्टालिन चौलागाईंले जानकारी दिए ।
कार्यक्रममा उपमेयर हरिमाया घलान, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटा, वडाध्यक्ष, अन्य जनप्रतिनिधि, कर्मचारी र नगरभित्रका अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।