logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

नारायणखोलामा चल्न छाड्यो बस, खोलाको बाटो बाढीले बिगार्यो


  • उज्यालो अभियान

फाइल तस्बिर ।

पत्थरकोट, ०१ जेठ – सर्लाहीको सबैभन्दा दुर्गम क्षेत्रमा पर्ने नारायणखोलामा बस चल्न छाडेको छ ।

शनिबार राति भएको भिषण वर्षापछि बाढी आएर खोलाको बाटो भताभुङ्ग पारेसँगै लालबन्दी बजारदेखि नारायणखोलासम्म चल्ने बस ठप्प भएका हुन् । लालबन्दी नगरपालिकाको वडा नं. १४ मा पर्ने चुरेभेगस्थित नारायणखोलामा सडक नपुगेका कारण हिउँदका महिनामा लखन्देही खोलाको बगरबाट बस चल्ने गरेका छन् ।

खोलामा बाढी आउन थालेपछि भने बस चल्न छाड्छन् । लालबन्दी १४ का वडाध्यक्ष छेनामसिंह घिसिङले शनिबार रातिको बाढीपछि बस चल्न नसक्ने गरी खोलाको बाटो बिग्रिएको उज्यालो अभियानसँग बताए ।

बस व्यवसायी समेत रहेका वडाध्यक्ष घिसिङले हिजोबाट बस गुड्न छाडेका सुनाए । उनले तत्काल वर्षा रोकिए दुई÷चार दिनपछि बाटो मर्मत गरेर जेठभर बस चलाउन सकिने तर पानी परिरहे समस्या पर्ने जनाए ।

वर्षायाम लागेसँगै नारायणखोलावासीको कष्टकर दैनिकी सुरु भएको छ । बस चल्न छाडेपछि स्थानीयहरु लालबन्दी बजारसम्म औषधि उपचार र दैनिक खाद्यान्न सामग्री खरिदका लागि पैदल हिँडेरै आउन थालेका युवा रोशन दोङले जानकारी दिएका छन् ।

सिन्धुलीसँग सीमा जोडिएको नारायणखोलाको माथिल्लो भेगका वासिन्दालाई लालबन्दी बजारसम्म आउन ३/४ घण्टासम्म पैदल हिँड्नुपर्ने बाध्यता छ ।

नारायणखोलाको वडा कार्यालय लालबन्दी बजारमा नै रहेको छ ।

वडा कार्यालयमा आउन पनि स्थानीय अब वर्षायामभर खोलामा हेलिएर लालबन्दी १३ स्थित पत्थरकोटसम्म आउनुपर्छ । लालबन्दीदेखि पत्थरकोटसम्म भने सडक पुगेको छ ।