नेता कार्यकर्ताले लगाईदिएकाे मालाले छपक्कै पुरिएका एमाले उपाध्यक्ष विष्णु पाैडेल । (तस्बिर : उज्यालाे अभियान)
मलंगवा, ३० बैशाख – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफूहरु वर्तमान सत्ता समिकरणलाई जोगाइराख्ने पक्षमा रहेको बताएका छन् ।
नेकपा एमाले सर्लाहीको नवौं जिल्ला अधिवेशनलाई आज सदरमुकाम मलङ्गवामा सम्वोधन गर्दै पौडेलले २०८४ सालको निर्वाचनसम्म एमाले, माओवादी, रास्वपासहितको वर्तमान समिकरणलाई टिकाइराख्ने पक्षमा एमाले रहेको बताएका हुन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका पौडेलले एमाले सरकारमा आएपछि मात्रै जनतामा विकास र समृद्धिको भरोसा जागृत हुने गरेको दावी गरेका छन् ।
२०८४ को निर्वाचनमा बहुसङ्ख्यक स्थानीय तहसँगै प्रदेश र सङ्घमा एकल बहुमत ल्याएर सरकार चलाउने एमालेको मुख्य उद्देश्य रहेको उपाध्यक्ष पौडेलको भनाई छ । त्यसका लागि नागरिकको घरदैलोमा पुगेर सेवा गर्न उनले नेता कार्यकर्तालाई निर्देशन दिए ।
एमालेको नेतृत्वमा मधेशमा हुलाकी सडक निर्माणको काम पूरा हुनुका साथै अन्य विकासका कामले पनि गति लिएकाले यो पार्टीलाई पत्याइने गरेको उनको जिकिर छ । अधिवेशनको उद्घाटन समारोहलाई एमाले नेता तथा रक्षामन्त्री हरिप्रसाद उप्रेती, मधेश प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डल, केन्द्रीय सदस्यद्वय कमलादेवी महतो र रन्जना सरकारले सम्वोधन गरे ।
अधिवेशनको प्रमुख अतिथिका रुपमा पार्टी अध्यक्ष केपी शर्मा ओली आउने भनिएपनि अन्तिम समयमा स्वास्थ्य समस्याले गर्दा उनी आउन नसकेका कार्यक्रममा जानकारी गराइयो । अध्यक्ष ओली नआएपछि कार्यकर्ता भने निराश देखिन्थे । उपाध्यक्ष पौडेल रक्षामन्त्री उप्रेतीसँगै सेनाको हेलिकप्टरमा मलङ्गवा आएर फर्किएका छन् ।
पार्टीका जिल्ला अध्यक्ष राजनारायण साहको अध्यक्षतामा आयोजित अधिवेशनको उद्घाटन समारोहमा केन्द्रीय सचिव योगेश कुमार भट्टराई, पोटिलब्यूरो सदस्य त्रय सुमनराज प्याकुरेल, पुरुषोत्तम पौडेल र लीलानाथ श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।
जिल्ला उपाध्यक्ष विदुर प्याकुरेलले संचालन गरेका उद्घाटन समारोहमा सहभागीलाई उप–सचिव पार्वती विश्वकर्माले स्वागत गरिन् ।
नवौं अधिवेशनको उद्घाटन समारोहमा नेकपा एमाले सर्लाहीलाई स्थापित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पूर्व जिल्ला पार्टी प्रमुखहरु सूर्यप्रसाद शर्मा, महिन्द्रराय यादव, लक्ष्मण पौडेल, केशवप्रसाद ढुङ्गाना, रवीन्द्र बैठा, ज्ञानबहादुर भुजेल, डिल्लीप्रसाद उप्रेती, रेवती पन्त र मनोजकुमार देवकोटा तथा पार्टीको आश्रयदाताको रुपमा टीकालक्ष्मी उप्रेती, रत्न रन्जितकार, विनोद घिमिरे, केशवप्रसाद लामिछाने र गोखुलराम साहलाई सम्मान गरिएको छ ।
एमाले सर्लाहीको यो जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गरेर टुङ्गिने छ । अधिवेशनको बन्दसत्र भोलीदेखि सदरमुकाम मलङ्गवामा नै सुरु हुने छ ।
उद्घाटन सत्र खेलकुद विकास समितिको कभर्ड हलमा भएपनि बन्दसत्र भने कुसुम पार्टी प्यालेसमा हुने छ । बन्दसत्र अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भोली दिनभर सहमतीको प्रयास गरिने र यदि सहमती हुन नसके पर्सी मङ्गलबार मतदानको लागि समय निर्धारण गरिएको छ ।
एमाले सर्लाहीको आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष राजनारायण साह, गणेश प्रसाद प्रसाई र जयप्रकाश यादव प्रमुख आकांक्षीका रुपमा देखिएका छन् । उनीहरुले प्यानल नै बनाएर प्रचारप्रसार तीव्र पारेका छन् ।