घारिबथान, २६ बैशाख – सर्लाहीको उत्तर–पूर्वी भेगस्थित ईश्वरपुर नगरपालिका–१२, कालिन्जोरमा रहेको नेपाल राष्ट्रिय जनता माध्यमिक विद्यालय बद्रीपुर घारीको व्यवस्थापन समिति अध्यक्षमा नारायण बहादुर ठोकर चयन भएका छन् ।
विद्यालयमा यसअघि नै अभिभावकमध्येबाट ४ जना सदस्य सर्वसम्मत छानिएका थिए । आज बिहान उनीहरु समेतको उपस्थितिमा बसेको बैठकले शिक्षापे्रमीबाट पूर्व स्वास्थ्यकर्मी समेत रहेका ठोकरलाई चयन गर्दै उनीलाई नै अध्यक्ष बनाउने निर्णय गरेको हो ।
यो विद्यालयले लामो समयपश्चात व्यवस्थापन समिति पाएको छ । अब शिक्षक नियुक्तिलगायतका काम अघि बढ्ने भएको छ ।
व्यवस्थापन समितिमा वडाध्यक्ष देविबहादुर खत्री पदेन सदस्य रहेका छन् । प्रधानाध्यापक रामवृक्ष महतो सदस्य सचिव रहने छन् ।
चन्दादाताबाट आज नै कविता देवी बुढाथोकीलाई व्यवस्थापन समितिको सदस्यमा चयन गरिएको छ । अब एक जना शिक्षक प्रतिनिधि मात्रै छानिन बाँकी छ ।
यसअघि अभिभावकमध्येबाट ४ जना सदस्यमा थामबहादुर खड्का, सावित्रा बराल, पुष्पाकुमारी कार्की र भिमबहादुर खड्का चयन भइसकेका छन् ।