लालबन्दी क्षेत्रमा बुधबार भएको वर्षा । तस्बिर : उज्यालो अभियान
लालबन्दी, २६ बैशाख – पानी परेर गर्मी ह्वात्तै घटेपछि सर्लाहीसहित तराई क्षेत्रका स्थानीयले राहत महशुस गरेका छन् ।
वैशाख लागेदेखि चर्को घाम र तातो हावा खेपेका यस क्षेत्रका नागरिकले बुधबार दिउँसो भएको वर्षापछि गर्मी निकै कम हुँदा राहतको महशुस गरेका हुन् ।
गर्मी घटेपछि मजदुर, किसान, बटुवा, यात्रु, विद्यालय जाने विद्यार्थीसहित आम सर्वसाधारणको दैनिकी निकै सहज बनेको छ । यहाँ एकनासले टन्टलापुर घाम लागेर तातो हावा चल्दा अधिकतम तापक्रम ४० डिग्री सेल्सीयस भन्दा माथि पुगेको थियो ।
पानी परेपछि अधिकतम तापक्रम घटेर ३० डिग्री सेल्सीयसको हाराहरीमा आइपुगेको छ । सर्लाहीको मौसम आज दिनभर धाम्मधुम्म र कतैकतै पानी छिट्याएर बित्यो ।
पानी परेपछि तत्कालका लागि धुलो, धुँवाको प्रदुषण कम भएको छ । वन क्षेत्रमा लागेको डढेलो निभेको छ ।
खाल्डाखुल्डीमा पानी जमेपछि वन्यजन्तु र चराचुरुङ्गीले प्यास मेट्न पाएका छन् । खडेरीले चुरेभेगमा खानेपानीको हाहाकार मच्चिएको थियो ।
अब विस्तारै इनार, कुवालगायतका पानीको स्रोतमा पानी रसाउन थाल्ने स्थानीयको विश्वास छ । अहिले परेको पानीले चैते धान, उखु, तरकारीलगायतका बालीलाई अमृत समान काम गरेको भन्दै किसान खुसी छन् ।
आकाशे वर्षाको भरमा खेती हुने चुरेपाखा र चुरेफेदीका स्थानीयले जमिन भिज्ने गरी पानी परेसँगै बारीमा मकै रोप्ने तयारीमा जुटेका छन् ।
अब मौसम उघ्रिने बित्तिकै बारीमा धमाधम मकै छर्न सुरु गरिने किसानको भनाई छ ।