लालबन्दी, २४ बैशाख – सर्लाहीमा २ दिनदेखि गर्मी केही कम भएको छ ।
४२ डिग्री सेल्सीयससम्म पुगेको यहाँको तापक्रम विगत २ दिनदेखि भने ३८ डिग्री सेल्सीयसको हाराहारीमा रह्यो । मौसम बद्ली भएर बेलाबेलामा धाम्मधुम्म भएकाले यहाँ गर्मी केही कम भएको हो । गर्मी घट्दा नागरिकले थोरै भएपनि राहत महशुस गरेका छन् ।
२ दिनदेखि बेलाबेलामा बादल देखा परेर धुम्मिए जस्तो भइरहे पनि पानी भने पर्न सकिरहेको छ्रैन् । यहाँ हावा चलेपनि ३/४ दिन अघिको जस्तो असाध्य तातो छैन् । पानी नपर्दा धुलो, धुँवाको प्रदुषण असाध्य छ । दुषित हावा चल्दा र मौसम खराब बन्दा मानिसमा घाँटी दुख्ने, आँखा पोल्ने, छाती दुख्ने, ज्वरो आउने, पखाला लाग्ने जस्ता स्वास्थ्य समस्या धेरै नै देखिएको छ ।
जेठ लाग्न लाग्दा दिउँसोपख गर्मी रहेपनि बिहानपख अझै चिसो छ । यस्तो मौसमप्रति धेरैले आश्चार्य मान्छन् । पानी नपरेर सर्लाहीको उत्तरी चुरेभेगका किसानले बारीमा मकै छर्न निकै ढिलो भएको बताएका छन् ।
बैशाख १०÷१५ सम्ममा मकै रोपिसक्ने गरेको भएपनि यो वर्ष बैशाख अन्तिम साता लागिसक्दा पनि पानी नपरेर मकै रोप्न नपाएको किसानले बताएका छन् । किसानले बैशाखमा स्यार्रसुर्र पानी परेर जेठमा यसरी खडेरी जाने गरेको भएपनि यो वर्ष ठीक उल्टो भएको बताएका छन् ।
चैतमा परेको पानीले खेतमा रोपेको मकै अहिले आएर पानी नपरेर ओइलाएको छ । सिँचाई सुविधा रहेर चैते धान रोपेको ठाउँमा रातदिन पप्पसेट चलाएर पानी पटाउनु परिरहेको छ । यहाँका किसान आकाशे वर्षाको बेग्र प्रतिक्षामा बसेका छन् ।
चुरेभेगमा जरुवा सुक्दा खानेपानीको चरम समस्या छ । कल तथा पप्पसेटबाट पानी नआउने र आकाशे वर्षा तथा जरुवा पानीकै भर रहेको चुरेभेगमा खडेरीले पिउने पानीसँगै वस्तुभाउलाई खुवाउने पानीको धेरै नै समस्या पर्न थालेको स्थानीयले बताएका छन् । दक्षिणी भेगका पनि चापाकल सुकेर पानी आउन छाडेको छ ।