प्रदेश सांसदका प्रत्यासी अनिता देवीलाई पार्टी प्रवेश गराउँदै प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड ।
गडहीया, २२ बैशाख – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी बजेटमा मधेश प्रदेशलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम र बजेट ल्याउने बताएका छन् ।
शनिबार अपरान्ह बलरा नगरपालिका–८, गडहीया डुमरियामा जनता नमूना माध्यमिक विद्यालयको भवन उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यो वर्ष मधेश प्राथमिकतामा पर्ने बताउनुभएको हो । “मेरो पहिलो ध्यान नै मधेशतिर छ, त्यसैले यो वर्ष बजेटमा मधेश प्राथमिकतामा पर्ने तपाईहरुलाई जानकारी गराउन चाहान्छु,” प्रधानमन्त्री प्रचण्डले भने “अन्तिम चरणमा रहेको नीति, कार्यक्रम तथा बजेटले मधेशमा अधिकतम माग सम्वोधन गर्ने छ, त्यसमा तपाईहरु ढुक्क हुनुस् ।”
उनले मधेशमा लागि सिँचाई, कृषि विद्युतीकरणलगायत अति आवश्यक र देश समृद्ध हुने क्षेत्रलाई यो सरकारले प्राथमिकता दिएर बजेट राख्ने उद्घोष गरेर फर्किएका छन् । प्रधानमन्त्री प्रचण्डले आफू यो पटक प्रधानमन्त्री भएपछि मधेशका समस्या समाधान गर्ने क्रममै नागरिकता ऐन कार्यान्वयनमा ल्याएर पाँच लाख बढी नागरिकताविहीन नागरिकलाई नागरिकता दिलाउन सफल भएको बताए ।
प्रधानमन्त्री प्रचण्डले २०६४ सालमा झैँ २०८४ सालमा माओवादीलाई मधेशबाट शक्तिशाली बनाएर पठाए यहाँका शोषक, सामन्त वर्गको अत्याचार कम भई मधेश समृद्धिको बाटोमा अघि बढने बताए ।
उनले रौतहटको गौर घटना ठूलो षडयन्त्रका हिसाबले घटनाइएको र माओवादीका सिध्याउन गरिएको सो घटनाले आफूलाई अहिले पनि पिरोल्ने गरेको तर्क गरेका छन् ।
तराई, मधेशमा आगलागीका घटनामा बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले पीडितको पुनःस्थापनाका लागि सरकारले बनाएको नीति अनुसार घर जलेर विस्थापित भएका परिवारलाई जनही तीन लाख रुपियाँ प्रदान गर्ने बताए । केही दिनअघि मन्त्रिपरिषद्को बैठक बसेर पीडितलाई तत्काल ५० हजार राहत प्रदान गर्ने निर्णय भएको प्रधानमन्त्री प्रचण्डले बताए ।
कार्यक्रमलाई निवर्तमान मन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, माओवादी केन्द्र मधेश प्रदेशका इन्चार्ज लिलामणि पोखरेल, मधेश प्रदेश सरकारका मन्त्री भरतप्रसाद साह, मधेश प्रदेश सभा सदस्य फकिरा महतो, संविधान सभा सदस्य शिवपुजन राय, बलरा नगरपालिकाका प्रमुख रामाशंकर कुशवाहा, रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादव, अनिता देवी, शम्भु पासवानलगायतले सम्वोधन गरेका छन् ।
कार्यक्रममा मधेश प्रदेश सभा सदस्यका प्रत्यासी अनिता देवीलगायत अन्य पार्टीबाट ठूलो संख्यामा नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका दावी गरिएको छ ।
कार्यक्रममा जिल्लाभरबाट माओवादीका नेता तथा क्षेत्र नं. ४ बाट सयौँको संख्यामा कार्यकर्ता उपस्थित भएका थिए ।