बयलवास, २० बैशाख – ईश्वरपुर नगरपालिका–४, सागरनाथमा आज बिहान स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते भएका छन् ।
आज बिहान १०ः३० बजेतिर भएको दुर्घटनामा सागरनाथकै मिनबहादुर थापा मगरकी श्रीमती ४० वर्षीया देविमाया थापा मगरको घटनास्थलमै ज्यान गएको हो । देविमायाले चलाएको बा ५४ प ६३०७ नम्वरको स्कुटर घुम्ती बाटोमा अनियन्त्रित भइ सडक नजिक राखिएको टायरगाढामा गएर ठोक्किएको प्रहरीले जनायो ।
मृतक महिलाको शव घटनास्थलमै रहेको छ । घटनास्थलको प्रकृति मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाउने तयारी भइरहेको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले उज्यालो अभियानसँग बताए । सारै दुःखद् घटना भयो, हामी अहिले घटनास्थलमा आएर थप अनुसन्धान गर्दै छौँ, इन्स्पेक्टर श्रेष्ठले भने, मृतकको शव पोष्टमार्टम गर्न पठाउन कानूनी प्रक्रिया पूरा गर्दैछौँ ।
दुर्घटनामा मृतक देविमायाका छोरा ११ वर्षीय श्रवण थापा मगर गम्भीर घाइते भएका छन् । घाइते बालकलाई मोडेल अस्पताल लालबन्दीमा सामान्य उपचारपश्चात थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।
इन्स्पेक्टर श्रेष्ठसहितको प्रहरी टोलीले घटनाको थप अनुसन्धान गरिरहेको हो ।