कविलासी, १९ बैशाख – सर्लाहीको कविलासी नगरपालिकास्थित सशस्त्र प्रहरी बल, नेपाल नं. १० गण हेडक्वार्टर अगर्बाको १७ औँ स्थापना दिवस आज भव्य समारोहकाबिच सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिवासका बाहिनीपति तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) दीपेन्द्र शाहको प्रमुख आतिथ्यतामा स्थापना समारोह सम्पन्न भएको हो । समारोहमा कविलासीका मेयर ब्रम्हदेव राय, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला र जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंहले सीमा सुरक्षामा सशस्त्र प्रहरीले निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गरेका छन् ।

डीआईजी शाहले सीमित स्रोत साधनका बाबजुत सीमामा हुने अपराध नियन्त्रण र सीमा सुरक्षाका लागि सक्दो काम गरिरहेको बताए । उनले भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग समन्वय गरी अघि बढेको सुनाए ।

गणको स्थापना दिवसकै अवसरमा गण परिसरमा बहुउद्देश्यीय भवनको शिलान्यास गरिएको गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले बताए ।

कार्यक्रममा सशस्त्र प्रहरीका प्रदेश तथा छिमेकी जिल्लाका अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुख, जनप्रतिनिधि, उद्योगी, व्यापारी, सामाजिक अगुवालगायतको उपस्थिति रहेको थियो ।
