logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा आज फेरि तीव्र रुपमा तातो हावा, ४१ डिग्री पुग्यो तापक्रम


  • उज्यालो अभियान

मलंगवा, बैशाख १६ – सर्लाहीमा आज फेरि तीव्र गतिमा तातो हावा चलेर अत्यधिक गर्मी भइरहेको छ ।

यहाँ आज तापक्रम पनि बढेर ४१ डिग्री सेल्सीयस पुगेको छ । हिजो–अस्ती जिल्लाको तापक्रम ३९ डिग्री सेल्सीयसको आसपास हुन्थ्यो । अत्यधिक गर्मीले मानिस प्रभावित बनेका छन् ।

तातो हावासँगै जताततै धुलो उड्दा बाहिर पैदल तथा मोटरसाइकलमा हिँड्नुपर्नेहरु प्रभावित बनिरहेका छन् । तराई क्षेत्रमा पानी पर्न नसकेर दिनानुदिन अत्यधिक गर्मी बढ्दो छ । गर्मीले विद्यालय जानुपर्ने विद्यार्थीसँगै खेतबारीको काम गर्ने किसान, मजदुरलगायत अति प्रभावित बन्न थालेका छन् ।

पानी पर्न नसकेर निरन्तर सुक्खा र तातो हावा चल्दा हाइब्रिड मकै, चैते धान, तरकारीलगायतका बालीनाली सुकेर जाँदा किसान चिन्तित बनेका छन् ।

मौसम प्रतिकूल बन्दा अत्यावश्यक काम परेर बाहिर निस्कनुपर्नेहरु चर्को घाम र तातो हावाले आजित बनेका छन् । गर्मी बढिरहँदा मानिसहरु बिरामी पर्नेक्रम पनि बढेको छ ।

चिकित्सकले यो मौसममा बारम्बार पानी पिउन, तातो हावा चलेको बेला घरभित्रै बस्न, सरसफाईमा ध्यान दिन र स्वास्थ्य सावधानीको अन्य उपाय अपनाउन सुझाव दिएका छन् ।

सुक्खा र हावाहुरीका कारण जताततै आगलागीका घटना बढेकाले आगो तथा आगोजन्य पदार्थको प्रयोगमा निकै चनाखो बन्न प्रहरी प्रशासनले सचेत गराइरहेका छन् ।