अत्रौली, १५ बैशाख – सर्लाहीको हरिवन नगरपालिका–२, अत्रौलीमा आजबाट ५ दिने योग शिविर सुरु भएको छ ।
“गरौँ योग, रहौँ निरोग” भन्ने मूल नारासहित अत्रौलीस्थित राम अवतार जनता माध्यमिक विद्यालयको परिसरमा ५ दिवसिय योग शिविर सुरु भएको हो । हरिवन नगरपालिका ३ नं. वडा कार्यालयको सहयोग तथा हरिकिर्तन कुन्ज अत्रौलीको आयोजनामा सुरु भएको यो विज्ञान शिविरको मधेश प्रदेश सरकारकी श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले उद्घाटन गरिन् ।

योग शिविर सन्चालन गर्न स्थानीय भवानी मैनाली र कमल मैनालीले पनि सहयोग गरेका आयोजकले जनायो । हरिकिर्तन कुन्ज अत्रौलीका अध्यक्ष होमराज थपलिया (राजन) को अध्यक्षतामा आयोजित योग शिविरको उद्घाटन कार्यक्रममा मधेश प्रदेश सभा सदस्य जवाहारलाल कुशवाहा, जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल), उपमेयर हरिमाया घलान, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, कांग्रेस नेता रामशरण उप्रेती, एमाले नगर अध्यक्ष सीताराम पोखरेल, माओवादी केन्द्र नगर कमिटीका अध्यक्ष अर्जुन पन्त, हरिवन २, ३ र ११ का वडाध्यक्षहरु क्रमश : अर्जुन योन्जन, दीपमान लोप्चन र शेष महबबु रेजालगायतको आतिथ्यता रहेको थियो ।

शिविरमा पतन्जली योग नेपालका मुख्य प्रशिक्षक बलदेव मिश्र, युवा पतन्जली योग समितिका संयोजक लोकनाथ खनाल, पतन्जली योग समिति मधेश प्रदेशका मार्गदर्शक एवं प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालगायतले योग आशन सिकाउने छन् ।

यसअघि लालबन्दीमा पनि यस्तै प्रकारको योग शिविर आयोजना गरेर अहिले दैनिक योग अभ्यास चलिरहेको छ ।