logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

गर्मीमा दिनभर बत्ती काटिँदा सास्ती, सूचना अनुसार बत्ती नदिएको गुनासो


  • उज्यालो अभियान

मलंगवा, १२ बैशाख – नेपाल विद्युत् प्राधिकरणको मलंगवा वितरण केन्द्रले सूचना दिएभन्दा बाहेक थप घण्टौँसम्म बत्ती अवरुद्ध गरेको भन्दै ग्राहकले गुनासो गरेका छन् ।

मलंगवा वितरण केन्द्रले नवलपुर–मलंगवा ३३ केभी लाइनको पुरानो तार हटाइ नयाँ तार जडान कार्य गरिरहेको छ । कार्यालयले सूचना जारी गरी वैशाख ८ गतेदेखि २२ गतेसम्म दैनिक बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म बत्ती काट्ने उल्लेख गरेको थियो । तर, सूचनामा तोकिएको समयभन्दा बाहेक दिनभर नै बत्ती नआउने गरेको ग्राहकले गुनासो गरेका छन् ।

सूचनामा दैनिक सात घण्टा बत्ती काटिने उल्लेख गरेपनि दिनभर बत्ती नआउँदा उखरमाउलो गर्मीमा जनजीवन प्रभावित बनेको हरिपूर्वा नगरपालिका निवासी संचारकर्मी मुकेश झाले जानकारी दिए । उनले बिजुली बत्ती नहुँदा दिनभर मोवाइलको नेटवर्क समेत नआउने समस्या रहेको बताए ।

बत्ती नहुँदा स्थानीयले उखरमाउलो गर्मीमा पंखा समेत चलाउन पाएका छैनन् । केही दिनदेखि बढेको अत्यधिक गर्मी र तातो हावाले दिनभर घरबाहिर निस्कन मुस्किल पर्ने अवस्था छ । यही समयमा मर्मतको लागि सात घण्टा काट्ने भनिएको बत्ती दिनभर नै नछाडिँदा गर्मीले उकुसमुकुस भएर बस्नु परेको मलंगवा वितरण केन्द्र अन्तर्गतका ग्राहकले गुनासो गरेका छन् ।

मलंगवा वितरण केन्द्रका एक प्राविधिकले भने काम गदागर्दै बत्ती छाड्न ढिलो हुने गरेको बताए ।

मलंगवासहित लालबन्दी र बरहथवा वितरण केन्द्रमा पनि केही दिनदेखि रातको चर्को गर्मी र खाना खाने समयमा बत्ती अनियमित हुँदा सर्वसाधारण हैरान भइरहेका छन् ।