logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

यो वर्ष बेलैमा पालुवा पलायो, बाख्रापालक किसानलाई राहत


  • उज्यालो अभियान

मूर्तिया, ११ बैशाख – गत चैत पहिलो साता केही दिन राम्रोसँग वर्षा हुँदा यो वर्ष रुखबिरुवामा चाँडै पालुवा पलाएको छ ।

सर्लाहीको उत्तरी चुरेभेग, पूर्व पश्चिम राजमार्ग क्षेत्र आसपास र मूर्तिया क्षेत्रको वनमा यो वर्ष चाँडै पालुवा पलाएको हो । अन्य वर्षहरुमा जेठ लागेपछि मात्रै रुखमा पालुवा पलाउँथ्यो । तर, यो वर्ष भने चैतकै सुरुमा जमिन भिज्ने गरी पर्याप्त मात्रामा परेको पानीले डाले घाँसका पालुवा चाँडै पलाएको किसानले बताएका छन् ।

रुखका पालुवा चाँडै पलाउँदा विशेष गरी बाख्रापालक किसानलाई राहत मिलेको छ । अहिले जिल्लाको वन क्षेत्रमा कुसुम, सखुवालगायत रुख तथा अन्य डाले घाँसमा प्रशस्त पालुवा पलाएको पशुपालक किसान बताउँछन् । जिल्लाको उत्तरी चुरेभेग र चुरेफेदीका बस्तीमा प्रशस्त मात्रामा बाख्रापालन हुने गरेको छ ।

बाख्रापालनबाटै त्यस भेगका किसानले घर खर्च धान्ने गरेका छन् । चैत पहिलो साताको पानीले त्यतिबेलै डढेलो लागिसकेको वनमा सिरु लगायतका भुँई घाँस पलाउँदा वस्तुभाउ चरिचरणका लागि पनि सहज भएको स्थानीय किसानलाई उदृत गर्दै हाम्रा संवाददाताहरुले जनाएका छन् ।

अहिले पानी पर्न नसकेर सुक्खा बढेपनि चैतको पानीले यो वर्ष ठूलो राहत मिलेको किसानहरु बताउँछन् ।

यस्तै असार/साउनमा धान रोप्ने खेतमा धेरैजसो किसानले मकै छरिसकेका छन् । अब पानी परेपछि बारीमा पनि मकै रोप्ने तयारी किसानको छ । सर्लाहीको चुरेभेग र पूर्व पश्चिम राजमार्ग क्षेत्रमा आकाशे पानीको भर रहेको छ ।