logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

वनमा लागेको डढेलोले दुईवटा घर र एउटा गोठ जलेर नष्ट


  • उज्यालो अभियान

फाइल तस्बीर ।

नारायण खोला, १० बैशाख – सर्लाहीको उत्तरी चुरेभेगमा पर्ने लालबन्दी नगरपालिका–१४, नारायण खोलास्थित सतासमा डढेलो सल्किएर दुईवटा घर र एउटा गोठ जलेर नष्ट भएको छ ।

घर नजिकैको सतास सामुदायिक वनमा लागेको डढेलो सल्किएर वुद्धिमान मोक्तान र उनका भाई फुर्साङ मोक्तानको घर जलेर खरानी भएको हो । मोक्तान द्वयका बुवा आइतेमान मोक्तानको गोठ पनि आगलागीमा परेर नष्ट भएको लालबन्दी १४ नारायण खोलाका वडाध्यक्ष छेनामसिंह घिसिङले जानकारी दिए ।

वडाध्यक्ष घिसिङका अनुसार हिजो दिउँसो घरका मानिस नारायण खोलाकै डाइनी खोला भन्ने ठाउँमा विवाहमा गएका बेला डढेलोबाट घर, गोठ जलेर ध्वस्त भएको हो । बिजुली अवरुद्ध भएर मोटर नचलेको र बस्तीदेखि तल खोलाको पानी गाग्रीमा बोकेर ल्याउँदा धेरै समय लाग्ने भएकाले आगो निभाउन नसकिएको वडाध्यक्ष घिसिङले बताएका छन् ।

छरछिमेकी मिलेर फुर्साङ मोक्तानको अर्को एउटा घरमा भने माटो हालेर आधाउधी भाग जल्नबाट जोगाएको वडाध्यक्ष घिसिङले बताए । आगलागीपछि फुर्साङ आफ्नो केही भाग जलेको घरमा बसेका छन् भने दाई वुद्धिमानले आफन्तको घरमा शरण लिएर बसेका स्थानीयले बताएका छन् ।

सडक नपुगेको नारायणखोला सर्लाहीको सबैभन्दा विकट क्षेत्रमा पर्छ । वडाध्यक्ष घिसिङले आज प्रहरी चौकी पत्थरकोटबाट प्रहरी लगेर घटनास्थलको मुचुल्का उठाइएको बताए । उनका अनुसार आगलागीबाट २५ लाख रुपियाँ बढीको क्षति भएको छ ।

सुक्खापन र तीव्र गतिमा हावाहुरी चल्दा सर्लाहीको चुरेभेगका वनमा लागिरहेको डढेलो घर, गोठमा सल्कने घटना बढ्न थालेका छन् ।

एक महिनाअघि वनमा लागेको डढेलो सल्किएर लालबन्दी १५ बाहुने डाँडामा दुईवटा गोठ जलेर नष्ट भएको थियो ।