लालबन्दी, ६ बैशाख – सर्लाही क्षेत्र नं. १ (ख) की प्रदेश सभा सदस्य बेची लुंगेली मधेश प्रदेश सरकारको मन्त्री बन्ने भएकी छन् ।
मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहँदा नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ समेत रहेकी लुंगेली पनि मन्त्री बन्ने निश्चित भएको हो । लुंगेली दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएकी हुन् ।
माओवादी केन्द्रका दुई र नेकपा एसबाट एकसहित तीन मन्त्री थप्ने तयारी भइरहँदा लुंगेलीले पनि मौका पाउने भएकी हुन् । तीनै जना मन्त्रीको आजै सपथ गराउने तयारी भइरहेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए ।
लुंगेलीसँगै महोत्तरी निर्वाचन क्षेत्र नं १ (ख) बाट निर्वाचित माओवादी संसदीय दलका नेता भरत प्रसाद साह र रौतहट ४ (क) बाट निर्वाचित माओवादीका अर्का सांसद युवराज भट्टराईलाई पनि मन्त्रीको सपथ गराउने तयारी भइरहेको छ ।
तीनै जनालाई आज विनाविभागिय मन्त्रीको सपथ गराईने र पछि मन्त्रालयको जिम्मेवारी तोकिने मुख्यमन्त्रीको सचिवालयले जनायो ।
सरकारबाट माओवदी केन्द्रका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवलाई फिर्ता बोलाउने स्रोतले जनाएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आफूसँगै श्रम तथा यातायात मन्त्रालय र वन तथा वातावरण मन्त्रालय राखेका छन् ।
मुख्यमन्त्री यादवले वैशाख ४ गते प्रदेश सभाबाट चौथोपटक विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । जनमत र लोसपाले छोडेको मन्त्रालय माओवादी र नेकपा एसलाई दिएर मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।