logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

ठगी आरोपमा पक्राउ परेका ‘एसपी गौरव’ १ लाख धरौटीमा छुटे


  • उज्यालो अभियान

हरिवन, ४ बैशाख – ठगी गरेको आरोपमा पक्राउ परेका ‘एसपी गौरव’ भनिने शंकर पहाडी एक लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।

सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजालासले थुनछेक बहसपछि पहाडीलाई एक लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । धरौटी रकम बुझाएर पहाडी आजै दिउँसो हिरासतमुक्त भएका इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

हरिवन प्रहरीले ठगीको आरोपमा पहाडीलाई गएको चैत ७ गते लालबन्दीबाट पक्राउ गरेको थियो । सिन्धुलीको तिनपाटन गाउँपालिका–१० घर भई केही समयदेखि लालबन्दीमा बसोवास गर्दै आएका पहाडी कमलामाई अनलाईनको संचालक तथा राष्ट्रिय समाचार समितिको सर्लाही समाचारदाता हुन् ।

पहाडीले २०७४ सालमा बा २७ प २९५२ नम्वरको मोटरसाइकल ५० हजार रुपैयाँमा बिक्री गरी उक्त मोटरसाइकलको सवारी दर्ता किताब (ब्लु बुक) एक हप्तापछि ल्याइ नामसारी गरिदिने भनेकोमा अहिलेसम्म मोटरसाइकल किन्ने सिन्धुलीकै एक युवकलाई ब्लु बुक नदिएपछि प्रहरीमा उजुरी परेको थियो ।

मोटरसाइकल किनेर चलाएका युवक पछि दुर्घटनामा परेपछि प्रहरीले उक्त मोटरसाइकल कार्यालयमा ल्याएर राख्यो ।

घाइते युवक उपचारपछि ठीक भएर प्रहरी कार्यालयमा पुगी मोटरसाइकल दिन आग्रह गरे । तर, प्रहरीले मोटरसाइकलको कागजात लिएर आउन भन्यो । त्यसबेलासम्म पनि पहाडीले मोटरसाइकलको कागजात नदिएपछि मोटरसाइकल किन्ने युवकले आफू ठगीमा परेको भनी प्रहरीमा उजुरी गरेका बुझिएको छ ।