मलंगवा, ४ बैशाख – केही दिनदेखि बढेको गर्मीले सर्लाहीसहित तराईका जिल्लाको जनजीवन प्रभावित बन्न थालेको छ ।
यहाँ दिनभर टन्टलापुर घाम लागेर तापक्रम बढ्दै जाँदा सर्वसाधारण गर्मीबाट प्रभावित बनेका हुन् । मध्यान्हपख चर्को घाम लागेर तातो हावा समेत चल्न थालेको छ ।
गर्मी बढ्दै जाँदा तराई क्षेत्रमा लामखुट्टेको आतङ्क दिनानुदिन बढ्दै गइरहेको स्थानीयले गुनासो गरेका छन् । बढ्दो गर्मीका कारण दैनिक ज्यालामजदुरीमा निस्कनुपर्ने मजदुर र खेतबारीको काम गर्नुपर्ने किसान प्रभावित बनेका छन् । गर्मीले यहाँका सडक तथा बजार क्षेत्र सुनसान देखिने गरेको छ ।
आर्थिक मन्दीका कारण व्यापार व्यवसाय नभएर चिन्तित बनेका व्यवसायी गर्मी बढेपछि मानिसको चहलपहल झनै पातलिँदै गएसँगै थप मारमा परेका छन् । गर्मी बढ्दै जाँदा सर्लाहीको लालबन्दी, हरिवन, बरहथवा, मलङ्गवा, बयलवास, हरिपुर, गोडैतालगायतका बजार मध्यान्हपख सुनसान बन्न थालेका हुन् ।
सुक्खापन बढ्दा यहाँको कच्ची सडकमा अत्यधिक मात्रामा धुलो उड्दा सडक छेउछाउ घर भएका स्थानीय, पैदलयात्री, मोटरसाइकल र सार्वजनिक सवारीमा सवार यात्रु प्रभावित बनेका छन् । सुक्खापन बढ्दा जिल्लाको वन क्षेत्रमा फेरि फाट्टफुट्ट डढेलो लाग्न थालेको छ । अधिकांश क्षेत्रमा चैत पहिलो साताअघि नै डढेलो लागेर हरियो घाँसपात र पालुवा पलाइसकेको अवस्थामा फेरि डढेलो लागेको स्थानीयले बताएका छन् ।
यस्तै सुक्खायाम र हावाहुरीका कारण जिल्लामा दिनहुँ आगलागीका घटना भइरहेका छन् । मौसममा आएको परिवर्तनसँगै ज्वरो, रुघाखोकी, टाइफाइड, अपजलगायत सङ्क्रमणका बिरामी बढेका छन् ।
चिकित्सकले चर्को घाम लागेको बेला घरभित्रै बस्न, बाहिर हिँड्डुल गर्दा मास्क लगाउन, प्रशस्त पानी पिउन, बाहिर जथाभावी बनाइएका खानेकुरा नखान र स्वास्थ्य सावधानी अपनाउन सुझाव दिएका छन् ।