बयलवास, २ बैशाख – सर्लाहीसहित तराई मधेशका जिल्ला तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइएको छ ।
यो पर्वको अवसरमा सर्लाहीमा पनि घर परिवारका ज्येष्ठ सदस्यले आफूभन्दा सानालाई टाउकोमा जल छर्केर आर्शीवाद दिएका छन् । यो पर्व शीतलताको प्रतिक हो ।
नव वर्षको शुभारम्भसँगै हरेक वर्ष वैशाख २ गते तराईरमधेश क्षेत्रमा जुड़शीतल मनाइन्छ । बिहानसबेरै शीतल जल घरको ज्येष्ठ व्यक्ति तथा मान्यजनले आफूभन्दा सानोको टाउकोमा छर्केर आशीर्वाद दिने चलन छ ।
यो पर्वको उद्देश्य सूर्यको तापबाट आकुलव्याकुल मानवलाई शीतलता प्रदान गर्नु रहेको छ । आजका दिन रुख बिरुवामा पनि सिंचित गरिनुका साथै खेतबारीमा समेत मलजल गरिन्छ ।
यो पर्वको अवसरमा तराई मधेशका विभिन्न स्थानमा हिलोपानीमा कुस्ती खेलेर मनोरन्जन गरिन्छ ।
आज चुह्लो देवतालाई चढाएर घरघरमा भात, दाल, तरकारी, करही बरी, तरुवा, भुटेको र तारेको परिकारलगायत मिष्ठान्न परिकार पकाएर खाने चलन पनि छ ।
यसै पर्वको अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको थियो ।