logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

चैते छठ : अस्ताउँदो सूर्यलाई अर्घ चढाइयो


  • उज्यालो अभियान

हरिपूर्वा, २ वैशाख – सर्लाहीसहित मधेशका जिल्लामा चैते छठ पर्व अन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ चढाइएको छ ।

चैत्र शुक्लपक्ष चतुर्थी तिथिबाट नआए खाए गरेर शुरु भएको चैते छठ अन्तर्गत हिजो पहिलो दिन खरना विधि गरिएको थियो । चैते छठ अन्तर्गत चोखो ठाउँ तथा भाडाको प्रयोग गरेर घरमा नै तयार पारिएको ठेकुवा, भुसुवा, उखु, नरिवल, अदुवा, बेसार, केरासहितका फलफूल टपरी, डगरी, कुरुवार, ढकनासहितमा राखेर घर नजिकको पोखरी, तलाउ, नदीलगायतका जलाशयमा पुगेर आज साँझ अस्ताउँदो सुर्यलाई अर्घ दिइएको हो ।

चैते छठका लागि सर्लाहीका २० वटै पालिकामा पोखरी, नहरलगायतका जलाशयलाई सरसफाई गरेर चिटिक्क पारिएको छ । अब भोली बिहान पुनः आज चढाइएको प्रसाद सामाग्री उदाउँदो सूर्यलाई अर्पण गरी चैते छठको समापन गरिने छ ।

शरद ऋतुको कार्तिकमा मनाइने छठ जस्तै गृष्म कालको ऋतु अर्थात् चैत्र महिनामा मनाइने छठ गर्ने चलन उस्तै रहेको छ ।

छठ पर्व गर्नाले परिवारमा सुख, शान्ति, समृद्धि, चर्म रोग निको हुने वा नलाग्ने जनविश्वास रहेको छ ।