घारिबथान, २९ चैत – सर्लाहीको उत्तर–पूर्वी चुरेभेगमा आज साँझपख केहीबेर हावाहुरी र असिनासहित ठूलो पानी परेको छ ।
चुरेभेगस्थित ईश्वरपुर नगरपालिका–१२, घारिबथान र लालबन्दी नगरपालिका–१५, देउराली, भूमरा, धुसेनी, परवानिपुर चोकलगायत क्षेत्रमा असिनासहितको पानी परेको हो । आधा घण्टाजति परेको ठूलो पानीले खेतका गरा बर्खामासमा झैँ पानी जमेर टिलपिल भएको ईश्वरपुर १२ चाकल टोलका सन्तबहादुर तामाङले बताए । “हावाहुरी, असिना र चट्याङसहित अत्याउने गरी केहीबेर ठूलो पानी पर्यो,” तामाङले उज्यालो अभियानसँग भने, “मल भकारा तथा खेतका गरा सबै पानी जमेर टिलपिल भएका छन् ।”
तामाङले चुरेपाखातर्फबाट हावाहुरीसहित पानी आउँदा खोलामा केहीबेर बाढी समेत आएको बताए । लालबन्दी १५ धुसेनी निवासी निवासी संचारकर्मी वुद्धबहादुर विश्वकर्माले साँझपख चट्याङसहित एकझर राम्रोसँग वर्षा भएको र अझै पनि मेघगर्जन भइरहेको बताए ।
सर्लाही जिल्लाभरको मौसम आज साँझबाट एक्कासी बद्ल भएको थियो । उत्तर–पूर्वी चुरेभेगका केही ठाउँबाहेक अन्यत्र मौसम बदली भएपनि पानी भने पर्न सकेन ।
लालबन्दी, हरिवन, बागमतीसहित पूर्व–पश्चिम राममार्ग क्षेत्रमा हावाहुरीमात्रै चल्दा पैदलयात्री, मोटरसाइकल तथा टेम्पु चालकलाई धुलोले आउजाउमै समस्या परेको देखिन्थ्यो ।
जिल्लामा दुई साताअघि पनि पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा असिना पानी परेको थियो । राजमार्ग क्षेत्रमा आज भने हावाहुरी मात्रै चल्यो । पानी पर्न सकेन ।
यहाँ पानी पर्न नसक्दा धुलो, धुँवाको प्रदुषण बढिरहेको छ ।