logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सुक्खा बढेपछि वन क्षेत्रमा पुनः डढेलो


  • उज्यालो अभियान

लालबन्दी, २९ चैत – तीव्र गतिमा हावाहुरी चल्न थालेपछि सर्लाहीका वन क्षेत्रमा पुनः डढेलो लाग्न सुरु भएको छ ।

सोमबार दिउँसोबाट यहाँ चर्को घाम लागेर हावाहुरी चल्न थालेसँगै फेरि डढेलो लाग्न थालेको हो । जिल्लाको ईश्वरपुर, लालबन्दी, हरिवन, हरिपुर, बागमती र बरहथवा नगरपालिका अन्तर्गतका वन क्षेत्रमा डढेलो लाग्न सुरु भएको स्थानीयले बताएका छन् ।

फागुन अन्तिमतिर डढेलो लागेको वनमा समेत फेरि दोहो¥याएर डढेलो लाग्न सुरु भएको छ । डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख मन्जुर अहमदले चैत पहिलो र दोस्रो साता केही दिन पानी पर्दा डढेलो नियन्त्रणमा आएपनि फेरि सुक्खापन बढेर हावाहुरी चल्न थालेपछि डढेलो लाग्न सुरु भएको बताए ।

उनले अब डढेलो लाग्ने मुख्ययाम भने भर्खरै सुरु भएको बताए । “केही दिन झरी परेर निभेपनि डढेलो लाग्ने मुख्ययाम त अब बल्ल सुरु भएको छ,” डिभिजन वन प्रमुख अहमदले भने, “अहिलेसम्म त धेरैजसो वन क्षेत्र डढेलोले भेटेको छैन, अब हावाहुरी चल्न थालेकाले सबैतिर डढेलोको जोखिम हुन्छ ।”

उनले हावाहुरी चल्न थालेपछि रुखका पात झरेर एक पटक डढेलो लागिसकेको ठाउँमा फेरि डढेलो लाग्ने बताए । डिभिजन वन प्रमुख अहमदले स्थानीय वासिन्दा तथा वनमा गोठाला गएका व्यक्तिले नै जथाभावी आगो झोस्दिँदा वनमा डढेलो फैलने गरेको बताए ।

डिभिजन वन कार्यालयले विभिन्न वन कार्यालयमा घाटगद्धी गरेर राखिएका काठ, दाउरामा डढेलो सल्किन नदिन सावधानी अपनाइएको जनाएको छ । चाँडो पालुवा पलाउने मानसिकता राखेर वनमा डढेलो लगाउने परिपाटी छ ।

वनमा दोहो¥याएर डढेलो लागेपछि वन्यजन्तु चपेटामा परेका छन् । वन नजिकका बस्तीमा आगलागी हुने जोखिम बढेको छ । यो वर्ष चुरेपाखाका धेरैजसो वनमा डढेलो लाग्न बाँकी नै रहेको स्थानीयले बताएका छन् ।

चुरेका केही पाखामा लागेको डढेलोले लालबन्दी नगरपालिकाको वडा नं. १५ मा दुईवटा गोठ जलेर नष्ट भइसकेका छन् । लालबन्दी १५ का वडाध्यक्ष गोरखबहादुर बलले अधिकांश वन क्षेत्र पर्ने आफ्नो वडामा धेरैजसो घर वन, पाखामै रहेकाले डढेलोको त्रास कायमै रहेको बताए ।

उनले चुरेवासी प्रायः हिउँदयामभर डढेलोको त्रासमा पर्ने गरेको बताए । “केही दिनको पानीले वनमा हरियो घाँस त पलाउन थालेको छ तर पनि फेरि सुक्खा बढेर हावाहुरी चल्ल थालेकाले डढेलोको जोखिम नै छ,” वडाध्यक्ष बलले भने ।