हरिवन, २६ चैत – नेपाल पत्रकार महासंघको मधेश प्रदेशका ६ जिल्लाका अध्यक्षको सर्लाहीमा सम्पन्न बैठकले सदस्यताको टुंगा नलाग्दासम्म जिल्ला अधिवेशन नगर्ने निर्णय गरेको छ ।
हिजो हरिवनमा बसेको बैठकले केन्द्रिय समितिबाट सदस्यताको टुंगा नलाग्दासम्म जिल्ला अधिवेशन नगर्ने निर्णय गरेको हो । बैठकबाट लुम्बिनी घोषणा पत्र अनुसार सदस्यता शुद्धिकरण अभियान अन्तर्गत जिल्ला शाखाहरुले पुराना सदस्यको नवीकरण तथा नयाँ सदस्यको नामावली सिफारिस गरेको तर जिल्ला शाखाले सिफारिस गरेको लामो समयसम्म पनि नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयबाट सदस्यताको अन्तिम नामावली प्रकाशन गर्ने वा आधिकारिक रुपमा जिल्ला शाखालाई प्राप्त नभएकाले सदस्यताको नामावली नटुंगिएसम्म आ–आफ्नो शाखामा जिल्ला अधिवेशन नगर्ने निर्णय गरिएको छ ।
६ जिल्लाका अध्यक्षको बैठकले सदस्यताको टुंगो नलागेसम्म मुलुकभरका जिल्ला शाखासहित प्रतिष्ठान शाखा र एशोसिएट संस्थालाई समेत अधिवेशन नगर्न/नगराउन आग्रह गरेको छ ।
बैठकमा महासंघको सर्लाही शाखा अध्यक्ष टंकबहादुर क्षेत्री, बारा शाखा अध्यक्ष रेशम तिवारी, रौतहट शाखा अध्यक्ष प्रेमचन्द्र झा, पर्सा शाखा अध्यक्ष अनुप तिवारी, सप्तरी शाखा अध्यक्ष श्रवण देव र सिरहा शाखा अध्यक्ष मनोज कुमार बनैताको उपस्थिति रहेको थियो ।