चन्द्रनगर गाउँपालिकाको कार्यालय ।
नाढीमन, २५ चैत – ९ महिनादेखि अनिर्णयको बन्दी बनेको सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आज गाउँसभाको बैठक बोलाइएको छ ।
आज बिहान ११ बजेपछि नाढीमन तालस्थित गाउँपालिकाको सभा हलमा गाउँसभा आयोजना गरिएको हो । जनप्रतिनिधिबीचको विवाद र राजनीतिक हस्तक्षेपका कारण समस्याग्रस्त अवस्थाबाट गुज्रिएको गाउँपालिकाले असारमै सक्नुपर्ने गाउँसभा अहिले चैत अन्तिममा आएर गर्न लागेको हो ।
स्रोतका अनुसार गाउँसभा गरेर बजेट पारित गर्न जनप्रतिनिधिबीच सहमती जुटेको छ । गाउँसभा बैठकले सम्भवत् आज नै चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गर्न सक्ने एक जनप्रतिनिधिले जानकारी दिए ।
गाउँसभाले बजेट ल्याउन नसक्दा चन्द्रनगरमा साउनदेखि सामाजिक सुरक्षा भत्ता निकासा हुन सकेको छैन् । कर्मचारी ९ महिनादेखि तलब नखाई काम गरिरहेका छन् । विकास निर्माणका काम ठप्प छ ।
आजको गाउँसभाले बजेट पारित गर्न सके यि समस्याको गाँठो फुक्ने छ । जनप्रतिनिधिबीच सहमती भएरै गाउँसभा हुन लागेपनि चन्द्रनगरमा आज कडा सुरक्षा पहरा दिन लागिएको सर्लाहीका एक सुरक्षा अधिकारीले बताएका छन् ।
यसअघि जिल्लाको हरिपूर्वा नगरपालिकामा गत फागुन ७ गते कडा सुरक्षाका बीच बहुमतका आधारमा नगरसभा गरेर बजेट पारित गरिएको थियो । चन्द्रनगरमा भने सहमती जुटाएरै गाउँसभा गर्न लागिएको हो ।