logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लालबन्दीमा संघ र प्रदेश स्तरीय दुग्ध विकास बोर्डबीच समन्वय बैठक


  • उज्यालो अभियान

लालबन्दी, चैत २४ – सर्लाहीको लालबन्दीमा आज संघ र प्रदेश स्तरीय दुग्ध विकास बोर्डका पदाधिकारीसहित अन्य सरोकारवालाबीच समन्वय बैठक सम्पन्न भएको छ ।

प्रदेश दुग्ध विकास बोर्ड जनकपुरधामको आयोजनामा समन्वयात्मक बैठक बसेको हो । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपानेको उपस्थितिमा आयोजित बैठकले दुग्ध क्षेत्रको सुधार र समस्या समाधानका लागि ७ बुँदे प्रतिवद्धता समेत जारी गरेको छ ।

बैठकमा दुग्ध सहकारी संचालक, डेरी संचालकसहित दुग्ध व्यवसायसँग जोडिएका व्यक्तिहरुले दुध बिक्री नहुँदा भएको समस्या, किसानको भुक्तानीमा भएको ढिलाई लगायतबारे आ–आफ्नो समस्या राखेका छन् । पछिल्लो समय बजारमा छाएको आर्थिक मन्दीले दुध तथा दुगजन्य पदार्थ बिक्रीमा ठूलो समस्या आइपरेको र ‘मिल्क होलिडे’ को अवस्था सिर्जना भएको गुनासो अत्यधिक आएको छ । किसानले महिनौँसम्म दुध बिक्री गरेको पैसा पाएका छैनन् ।

बैठकले यि समस्याहरुको समाधान गर्न संघ तथा प्रदेशको दुग्ध विकास बोर्ड, डिरी संचालक, उद्योगी, दुग्धजन्य सहकारी संस्था सबै मिलेर काम गर्ने निर्णयसहित प्रतिवद्धता जारी गरेको प्रदेश दुग्ध विकास बोर्डका निर्देशक शंकर साहले बताए । सोही बैठकको अवसरमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशले आजैबाट किसान केन्द्रित अभियान शुभारम्भ गरेको छ ।

अब हरेक कार्यक्रममा किसानलाई नै प्रमुख अतिथि बनाएर कार्यक्रम गरिने मन्त्री न्यौपानेले बताए । आजको कार्यक्रम पनि साना किसान कृषि सहकारी संस्था परवानिपुरकी अध्यक्ष मिना कुमारी स्याङतानको प्रमुख आतिथ्यतामा गरिएको हो ।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशका सचिव डा. शरण कुमार पाण्डे, दुग्ध विकास बोर्डका संघ तथा प्रदेशका सदस्य, भेटिरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख तथा प्रतिनिधि, डेरी उद्योगी, जुग्धजन्य सहकारीका प्रतिनिधिलगायत उपस्थित भएका थिए ।