मलंगवा, २४ चैत – सदरमुकाम मलंगवाका युवाले हुलाकी सडकमा पर्ने राजश्री चोकदेखि टावर चोकसम्मको सडक कालोपत्रे गर्न माग गर्दै शनिबार बिहान प्रदर्शन गरेका छन् ।
महिनौँदेखि अलपत्र छाडिएको हुलाकी सडकमा अत्यधिक धुलो उड्दा छेउछाउका घरमा बस्न तथा यात्रा गर्न गाह्रो परेको भन्दै युवा भेला भएर नाराबाजीसहित टायर बालेर प्रदर्शन गरेका हुन् । हुलाकी सडक अन्तर्गत मलंगवाको मुख्य बजार क्षेत्रमा पर्ने र्२ किलोमिटर सडक मात्रै कालोपत्रे हुन बाँकी छ ।
निर्माणाधीन अवस्थामा रहेको सडक र नालाको काम असाध्य सुस्त गतिमा अघि बढ्दा धुलोका कारण आफूहरु बिरामी पर्न थालेको युवा अगुवा सोहन झाले गुनासो पोखे । आन्दोलित युवाले सडक पिच नहुन्जेल पानी पटाएर भएपनि धुलो नियन्त्रण गर्न माग गरेका छन् ।
मलंगवा नगरका जनप्रतिनिधिले सडकको दुरावस्थाबारे चासो नदिएको युवाहरुको गुनासो छ । उनीहरुले जनप्रतिनिधिविरुद्ध पनि नारा लगाए ।
मलंगवा नै निवासी नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले सडकको धुलोले घरमा बस्नै नसक्ने अवस्था रहेको दुःखेसो पोखेका छन् । उनले सडक र नाला तत्काल निर्माण हुने भनी लामो समयदेखि कयौँ पटक आश्वासन पाएपनि काम भने नभएको बताए ।
हुलाकी सडक आयोजना जनकपुरले भने सडकको ‘साइड क्लियर’ गर्ने विषयमा विवाद चल्दा काममा ढिलाइ भएको जनाएको छ । हुलाकी सडकका डीई कृष्ण महतोले नालासहित २० वा २४ मिटर कतिसम्म चौडा सडक बनाउने भन्ने विवाद रहेकाले काममा ढिलाई भएको उज्यालो अभियानसँग बताए ।
उनले शनिबार दिउँसो उज्यालोसँगको कुराकानीमा सडक कार्यालयको मापदण्ड अनुसार अब भने २० मिटरभित्रै नाला समेत निर्माण गरेर बैशाखसम्ममा सडक कालोपत्रे गरिन सक्ने दावी गरेका छन् ।