logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

परवानिपुरमा वडा कार्यालयले उठाउन थाल्यो निःशुल्क फोहोर


  • उज्यालो अभियान

परवानिपुर, २४ चैत – सर्लाहीको लालबन्दी नगरपालिका–१६, परवानिपुरमा आजबाट वडा कार्यालय आफैले व्यवस्थापन गरी निःशुल्क फोहोर संकलन गर्न सुरु गरेको छ ।

वडाध्यक्ष गणेशबहादुर थापाले मासिक दुई पटक कुनै शुल्क नलिई फोहोर संकलन गर्न सुरु गरिएको जानकारी दिए । प्रत्येक महिनाको पहिलो र अन्तिम शनिबार फोहोर संकलन अभियान सुरु गरिएको हो ।

स्थानीयको पसल व्यवसाय तथा घरबाट निस्कने नकुहिने फोहोर संकलन गरेर विभिन्न ठाउँमा व्यवस्थापन गर्ने प्रवन्ध मिलाइएको वडाध्यक्ष थापाले बताए । कुहिने फोहोर स्थानीयले आफ्नै खेतबारीमा मलको रुपमा व्यवस्थापन गरेपनि नकुहिने फोहोर भने महिनामा दुई पटक घरघरमै ट्याक्टर पठाएर उठाइने वडाध्यक्ष थापाको भनाई छ ।

लालबन्दी १६ को वडा कार्यालयले यो वर्षबाट “एक घर, एक विरुवा” अभियानको पनि सुरुवात गर्दै छ । वर्षाद् लागेपछि प्रत्येक घरलाई विरुवा वितरण गरिने लालबन्दी १६ को वडा कार्यालयले जनायो ।

फोहोर संकलन अभियानको शुभारम्भ कार्यक्रममा वडाध्यक्ष थापा, जिल्ला समन्वय समितिका सदस्य हेम कार्की, लालबन्दी १६ का वडा सदस्यहरु तिलकबहादुर घलान, सन्चर सुनुवार, वडा सचिव विष्णुप्रसाद गौतम, उद्धव पाठक, रामबहादुर पाण्डे, राजु बुढाथोकी, प्रहरी चौकी परवानिपुरका इन्चार्ज असई फौजबहादुर थापा मगरलगायतको उपस्थिति रहेको थियो ।