जिल्ला प्रहरी कार्यालय मलंगवा । (तस्बीर : उज्यालो अभियान)
मलंगवा, २४ चैत – सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) दयानिधी ज्ञवालीको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले गएसाँझ १६ जना एसपीको काज सरुवा गर्दा डेढ महिनाअघि सर्लाहीमा हाजिर भएका एसपी ज्ञवालीको पनि सरुवा भएको हो । फागुन २ गते काठमाडौँ उपत्यका प्रहरी कार्यालय इन्टलिजेन्स शाखाबाट एसपी ज्ञवालीलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा सरुवा गरिएको थियो । उनले फागुन ७ गते मलंगवास्थित जिल्ला प्रहरी कार्यालयमा हाजिर भएर कमाण्ड सम्हालेका थिए ।
एसपी ज्ञवालीको अहिले नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल काठमाडौँमा सरुवा भएको हो । सर्लाहीमा भने प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय नक्सालबाट एसपी रविन्द्र बहाुदर सिंह आउने भएका छन् ।
एसपी सिंह केही दिनभित्रै जिल्ला प्रहरी कार्यालयमा हाजिर हुने बुझिएको छ । १६ जना एसपीको काज सरुवा हुँदा मधेश प्रदेशका ८ जिल्लामध्ये सर्लाही, रौतहट, बारा, महोत्तरी, धनुषासहित ५ जिल्लाका एसपी परिवर्तन भएका हुन् ।
सामान्यतया एक वर्ष पुगेपछि प्रहरी अधिकारीहरुको सरुवा हुने भएपनि मधेश प्रदेशका ५ जिल्ला प्रहरी इन्चार्जहरु छोटो अवधीमै फेरिएका हुन् ।