logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

‘तपस्वी’ बम्जनको मुद्धामा लिखित नोट पेश गर्ने आदेश : क-कसले गरे बहस ?


  • उज्यालो अभियान

कडा सुरक्षाघेरामा २०८० पुस २६ गते सर्लाही जिल्ला अदालत मलंगवामा पेश गर्न ल्याईएका ‘तपस्वी’ राम बहादुर बम्जन । (तस्बिर : उज्यालो अभियान)

टंक बहादुर क्षेत्री/मलंगवा, २१ चैत – पूर्पक्षका लागि महोत्तरी कारागारमा रहेका ‘तपस्वी’ रामबहादुर बम्जन विरुद्धको मुद्धामा वादी र प्रतिवादी दुवैतर्फका वकिलहरुको लिखित बहस नोट पेश गर्ने आदेश भएको छ ।

सर्लाही जिल्ला अदालतका न्यायाधिश फणिन्द्र प्रसाद पराजुलीको ईजलाशले वादी र प्रतिवादी दुवै तर्फका वकिलहरुलाई लिखित बहस नोट पेश गर्न आदेश दिएको हो । आज(बुधबार) वादी नेपाल सरकार र प्रतिवादी बम्जन तर्फका वकिलहरुले न्यायाधिश पराजुलीको ईजलासमा बहस गरेका थिए ।

वादीको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीका प्रमुख जिल्ला न्यायधिवक्ता कैलाश दाहालले बहस गरेका छन् । सरकारको तर्फबाट न्यायधिवक्ता दाहाल एक्लैले बहस गरेका हुन् ।

प्रतिवादी बम्जन तर्फबाट भने काठमाडौंबाट आएका कानून व्यवसायीहरु वरिष्ठ अधिवक्ता सिताराम केसी, राम घिमिरे, अमल कुमार लामा र अतुल घिमिरे तथा सर्लाहीका तिर्थराज घिमिरे र दिलिप कुमार झाले बहस गरेका सर्लाही जिल्ला अदालतका स्रेस्तेदार शदन अधिकारीले जानकारी दिए ।‘फणिन्द्र प्रसाद पराजुली श्रीमानको ईजलासबाट तीन साताभित्र दुवैतर्फका कानून व्यवसायीलाई लिखित बहस नोट पेश गर्ने आदेश आएको छ’, स्रेस्तेदार अधिकारीले उज्यालो अभियानसँग भने, ‘आजका कानून व्यवसायीहरुले मौखिक रुपमा गर्नु भएको बहस आगामी वैशाख १३ गते भित्र लिखित नोटको रुपमा पेश भएपछि उक्त बहस मिसिलमा सामेल गरिने र फैसलाका लागि अर्को पेशी तोकिने छ ।’

गत पुस २६ गते सर्लाही जिल्ला अदालतका न्यायाधिश विष्णुप्रसाद रेग्मीको इजलासले ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ मुद्दामा बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनी हाल महोत्तरीको जलेश्वर स्थित कारागारमा रहेका छन् । अनुयायी बेपत्ता पारेको आरोप लागेका बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी) ले गत पुस २४ गते साँझ काठमाडौँको बुढानिलकण्ठ स्थित घरबाटै पक्राउ गरेको थियो । पक्राउ परेका बम्जनलाई सीआईबीले पुस २५ गते राती जिल्ला प्रहरी कार्यालय मलंगवालाई बुझाएको थियो ।

जिल्ला प्रहरी कार्यालय मलंगवामा परेको किटानी जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय मलंगवाले सर्लाही जिल्ला अदालतमा मुद्धा दर्ता गरेपछि बम्जन फरार रहेका थिए । बम्जनविरुद्ध ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ मुद्दामा २०७७ साल असार २१ गते सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

‘लिटिल बुद्ध’ समेत भनेर चिनिएका बम्जनलाई सर्लाहीको लालबन्दी नगरपालिका–१२, पत्थरकोटस्थित स्याङ्बो डाँडामा रहेको आश्रममा आनी बनेर बसेकी बागमती नगरपालिका–१२ काजिराम टोल निवासी एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मुद्दा दायर भएको थियो । ती बालिकालाई बम्जनले २०७३ साल साउन २० गते राति ललाइफकाइ प्रलोभन देखाइ आफू सुत्ने कोठामा लगेर विभिन्न किसिमको डर, त्रास, धाक, धम्की देखाइ बोल्न कराउन नदिइ यौन सन्तुष्टि लिनको लागि जवरजस्ती करणी गरेको र त्यसपछि पनि बालिका एक्लै भएको मौका छोपेर पटक–पटक करणी गरेको दायर मुद्दामा उल्लेख छ ।

घटना भएको बेला बालिका १५ वर्षको मात्रै थिईन् । उनी १८ वर्ष भएपछि २०७६ साल माघ २३ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो । सर्लाही जिल्ला अदालतले सोही दिन बम्जनलाई पक्राउ गर्न अनुमती दिएको थियो । बम्जन फरार रहेपछि सरकारी वकिलको कार्यालय सर्लाहीले २०७७ साल असार १८ गते सर्लाही जिल्ला अदालतमा अभियोग पत्र दर्ता गराएको थियो ।

यस्तो छ बम्जन विरुद्धको अभियोग पत्र

अभियुक्त बम्जन विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले १२ देखि १४ वर्ष सम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदावी सहित अभियोग पत्र दायर गरेको जिल्ला न्यायाधिवक्ता कैलाश दाहालले जानकारी दिए । बालबालिका सम्बन्धी ऐन २०७५ को ६६ को ३ ले यौन सन्तुष्टि प्राप्त गर्ने बालबालिकालाई  प्रयोग गर्ने गराउने, बाल यौन शोषण गर्ने गराउने कसुर गर्यो भने दफा ७२ को ३ को ६ ले प्रचलित कानुन वमोजिम जवर्जस्ती करणीको कसुरमा कसुरदारलाई सजाय हुनेछ भन्ने तथा त्यही मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ३ ग बमोजिम जिल्ला सरकारी वकिल कार्यालयले अभियोग लगाएको छ ।  १४ वर्ष भन्दा बढी र १६ वर्ष भन्दा कम उमेरको बालिका भए १२ देखि १४ वर्षसम्म कैद हुनसक्ने कानूनी व्यवस्थालाई टेक्दै जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय मलंगवाले सर्लाही जिल्ला अदालतमा बम्जन विरुद्ध दायर गरेको अभियोग पत्रमा भनिएको छ, ‘प्रतिवादी राम बहादुर बम्जन भन्ने रामलाल बम्जनले १४ वर्ष भन्दा बढी १६ वर्ष भन्दा कम उमेरकी बालिकालाई यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण गर्ने उक्त कार्य बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६(३) (छ) र (ज) बमोजिमको र प्रतिवादीहरु तोप्चेङ महात्मा गुरु भनी चिनाउने ज्ञान कुमार बम्जन र जे.बी. गुरु भन्ने जीत बहादुर तामाङले कसुरदारलाई भगाउने, लुकाउने गरेको कार्य मुलुकी अपराध संहिता, २०७४ को दफा ३६(१) र (२) बमोजिमको कसुर गरेको वारदात पुष्टि हुन आउँछ ।’

यो पनि पढ्नोस्

‘तपस्वी’ बम्जनको मुद्धामा बहस चल्दै, आजै फैसला आउने सम्भावना