रामपुर, चैत २१ – सर्लाहीले ईश्वरपुर नगरपालिका–८, रामपुरमा जारी मधेश प्रदेश स्तरीय प्रथम लोकतान्त्रिक गोल्डकप फुटबल प्रतियोगितामा आज पहिलो सेमिफाइनल खेल हुँदै छ ।
फाइनल प्रवेशका लागि आज जनसेवी यूवा क्लब बर्दिवास र मोफसलको चर्चित नव जनजागृति यूवा क्लब सिमराले खेल्ने लागेका हुन् । खेल अपरान्ह ४ बजेपछि रामपुर फुटबल चौरमा सुरु हुने छ ।
सिमरा बेंखाडी यूवा क्लब महोत्तरीलाई ट्राइबे्रकरमा ३–१ गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो । जनसेवीले प्रतियोगिताको उद्घाटन खेलमा सिरहामाथि १०–० गोलको जित निकालेको थियो ।
सर्लाही लोकतान्त्रिक खेलकुद संघको आयोजना तथा जनजागृति यूवा क्लब रामपुरको सह–आयोजनामा जारी प्रतियोगिताको बिजेताले २ लाख र उपबिजेताले १ लाख नगदसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।
फाइनल खेल चैत २४ गते हुने छ ।