मलंगवा, चैत १८ – सर्लाहीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत आज तीन जना केन्द्राध्यक्षलाई निष्काशन गरी नयाँ केन्द्राध्यक्ष तोकिएको छ ।
आज तेस्रो दिन संचालन भएको अनिवार्य गणित विषयको परीक्षामा आफ्नो परीक्षा केन्द्रभित्र मर्यादा कायम गर्न नसक्ने तीन जना केन्द्राध्यक्षलाई कारवाहीस्वरुप जिम्मेवारीबाट हटाएर नयाँ केन्द्राध्यक्ष नियुक्त गरिएको हो । आज साँझ जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ) कोमलप्रसाद धमलाको अध्यक्षतामा बसेको समितिको बैठकले गम्हरिया, बेल्ही र हरकठवा माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष फेर्ने निर्णय गरेको शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाका निमित्त प्रमुख रामवृक्ष महतोले जानकारी दिए ।
उनका अनुसार मलङ्गवा नगरपालिका–११, गम्हरियामा रहेको श्रीमती लक्ष्मीदेवी जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष तथा सोही विद्यालयका प्रधानाध्यापक दिनेश रायलाई हटाएर सहायक केन्द्राध्यक्ष वसन्त कुमार प्रसाद साहलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ ।
यस्तै चक्रघट्टा गाउँपालिका–२, बेल्हीमा रहेको जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष वीरेन्द्र चौधरीलाई हटाएर उनको स्थानमा कविलासी नगरपालिकास्थित सलेमपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक रवीन्द्र रायलाई केन्द्राध्यक्ष बनाएर पठाइएको छ । त्यसैगरी जनता माध्यमिक विद्यालय धनकौल गाउँपालिका ३ हरकठवा परीक्षा केन्द्रका केन्द्राध्यक्ष एवं सोही विद्यालयका प्रधानाध्यापक रामनारायण यादवलाई जिम्मेवारीबाट हटाएर गोडैता नगरपालिकास्थित सिसौटिया माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई नयाँ केन्द्राध्यक्ष नियुक्त गरेर खटाइएको शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बाहिरबाट हेर्दा परीक्षा व्यवस्थित नै देखिए पनि भित्र अनुगमनमा पुग्दा मोवाइलबाट चिट चोरी भइरहँदा बेवास्ता गर्ने, भएका सीसी टिभी दुरुन्त नराख्ने जस्ता परीक्षाको मर्यादा भन्दा विपरीतका गतिविधि पाइएपछि केन्द्राध्यक्षलाई नै जिम्मेवारीबाट हटाएर नयाँ केन्द्राध्यक्ष तोकिएको बताए । उनले परीक्षालाई मर्यादित र व्यवस्थित बनाइँदै लगिने उज्यालो अभियानसँग बताएका छन् ।