logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

एकल चिन्तन सोचबाट देश चलाइँदै छ : राजेन्द्र महतो


  • उज्यालो अभियान

लालबन्दी, १६ चैत – राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले देशको शासन अप्राकृतिक ढंगबाट संचालन भइरहेको बताएका छन् ।

शुक्रबार बिहान सर्लाहीको लालबन्दीमा पत्रकारसँग कुरा गर्दै महतोले देश आफ्नै विचार, परिस्थिति, सँस्कृति र सभ्यताको आधारमा संचालन हुन नसकेको बताएका हुन् । उनले वर्तमान शासन र संविधानबाट जनतामाथि विभिन्न प्रकारका उपेक्षा, विभेद र शोषण गरिएको तर्क गरेका छन् ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) त्यागेर बहुलराष्ट्रिय राज्यको नारासहित अभियान लिएर हिँडेका महतोले एकल चिन्तन सोचबाट देश चलाउँदा अहिलेको अवस्था सिर्जना भएको बताए । विविधता, विभिन्न पहिचान र राष्ट्रियताले भरिएको देशलाई एकल चिन्तन सोचबाट अप्राकृतिक हिसाबले सन्चालन गरिएको महतोको भनाई छ ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका महतोले सङ्घीयताको मर्म र भावना विपरीत सबैथोक केन्द्रको मातहतमा राखेर बेइमानी गरिएको बताएका छन् । यही कारणले सङ्घीयताको व्यवस्था नै खराब हो भन्ने सन्देश तल्लो तहमा पुगेको उनको भनाई छ ।

उनले बहुलराष्ट्रिय राज्य स्थापनार्थ आफूले सुरु गरेको अभियान बिखण्डनको कुरा हो की भनेर भ्रम छर्न खोजिएकाले त्यस कुराको पछि नलाग्न आग्रह पनि गरे ।

पत्रकारसँगको भेटघाट कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका नेता सुमन सायमी, केशव झा, कमला गुरुङ, वुद्धिछिरिङ मोक्तानलगायतको उपस्थिति रहेको थियो ।