logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

धुम्मिन छाडेन मौसम


  • उज्यालो अभियान

हरिवन, चैत १५ – आज पनि बिहानैदेखि सर्लाहीको मौसम धुम्मिरहेको छ ।

यहाँ विगत ३ दिनदेखि यसैगरी मौसम धुम्मिएर कालोमैलो भएपनि पानी भने पर्न सकेको छ्रैन् । हिजो अस्तीको झैँ पानी पर्लाजस्तो भई मौसम धुम्मिरहेको हो ।

अघिल्लो हप्ताको वुधबारदेखि यहाँ केही दिन झरी परेको थियो । ३/४ दिन झरी परेर रोकिए पनि त्यसपछि पनि मौसम राम्रोसँग उघ्रिएको छ्रैन् ।

पानी परेपछि सबैतिर पालुवा फिरेर हरियाली बढ्दै गएको छ भने उखु, गहुँ, मकैजस्ता बालीनाली, तरकारी, आँप, लिचीलगायतका कृषि उपज फिर्दै आइरहेका छन् ।

आकाशे पानीको भर रहेको उत्तरी भेगका किसान जमिन ओसिलो भएकाले मकै रोप्ने तयारीमा छन् । तर, मौसम उघ्रिन नसकेकाले पुनः पानी परेर बिग्रन सक्ने डरले किसानले मकै छर्न सकेका छैनन् ।

अहिले उत्तरी भेगका किसानलाई मकैको बीउ तयार पार्ने, खेतबारीमा मल छर्नेलगायत कामको चटारो छ । अघिल्ला वर्षहरुमा यो बेला जताततै सुक्खापन छाएर डढेलो लाग्ने गरेकोमा यो वर्ष मौसम ठीक उल्टो भइरहेको छ ।

यसैबीच, अझै दुई/तीन दिन देशैभर मौसम सफा हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पूर्वी नेपालका धेरैजसो भागमा पानी परे पनि पश्चिम नेपालमा बादल मात्र लाग्ने पूर्वानुमान छ । अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ ।

अरब सागरबाट जलवाष्पयुक्त हावा नेपालसम्म आइपुगेकाले बादल लाग्ने र पानी पर्ने क्रम जारी छ । चैतको महिनामा सामान्यतया बिहानैदेखि दिउँसोसम्म चर्को घाम लाग्ने, साँझपख हावाहुरी चल्ने र चट्याङसहित असिना पानी पर्ने गर्छ ।

तर अहिले माघे झरीजस्तो मौसम देख्दा आफूलाई अनौठो लागिरहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले बताए ।