logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सर्लाहीमा एसइइको तयारी पूरा


  • उज्यालो अभियान

मलंगवा, चैत १४ – सर्लाहीमा माध्यमिक शिक्षा परीक्षा (एसइइ) को तयारी पूरा भएको छ ।

चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने एसइइको सम्पूर्ण तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाका निमित्त प्रमुख रामवृक्ष महतोले जानकारी दिए । महतोका अनुसार एसइइमा सर्लाहीबाट छ हजार ७८३ छात्रा र चार हजार ११३ छात्र गरी जम्मा १० हजार ८९६ परीक्षार्थी सहभागी हुँदै छन् ।

परीक्षा सञ्चालनका लागि जिल्लाभर ३८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । निमित्त इकाइ प्रमुख महतोले सम्पूर्ण परीक्षा केन्द्रमा उत्तरपुस्तिका पुर्याइसकिएको बताए । प्रश्नपत्र भने परीक्षा केन्द्र नजिकको प्रहरी चौकीमा लगेर राखिएको छ ।

३८ वटै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई अभिमुखीकरण दिएर नियुक्ति पत्र प्रदान गरी आवश्यक परीक्षा सामग्रीसहित आ–आफ्नो परीक्षा केन्द्रमा खटाइएको निमित्त इकाइ प्रमुख महतोले बताए ।

एसइइ सञ्चालनका लागि जिल्लामा ३८ जना केन्द्राध्यक्ष, ७३ जना सहायक केन्द्राध्यक्ष, ५४४ जना निरीक्षक, १०३ जना परीक्षा सहायक र २२० जना विद्यालय सहयोगी गरी एक हजार १६ जना जनशक्ति परिचालन हुने छन् ।

परीक्षालाई मर्यादित र शान्तिपूर्ण बनाउन आवश्यक मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन हुने जिल्ला स्तरीय परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बताए ।