लालबन्दी, चैत १४ – राष्ट्रिय गौरवको रुपमा लिइएको सुनकोशी–मरिण डाइभर्सन आयोजनाबाट सर्लाही र महोत्तरीको उत्तरी बेल्टलाई समेत समेट्न माग गरिएको छ ।
आयोजनाको अहिले भइरहेको काम तथा सर्भे अनुसार सुक्खाग्रस्त क्षेत्रको रुपमा रहेको सर्लाही र महोत्तरीको राजमार्ग आसपास तथा चुरेक्षेत्रलाई नसमेटिएको भन्दै आज लालबन्दीमा भएको सर्वपक्षिय छलफलले यि दुई जिल्लाका उत्तरी भेगलाई पनि समेट्न माग गरेको हो । सर्लाहीको उत्तरी भेगका बागमती, हरिवन, लालबन्दी र ईश्वरपुर नगरपािलका तथा महोत्तरीको उत्तरी भेगस्थित बर्दिवास नगरपालिकामा सिँचाई र खानेपानीको अत्यधिक समस्या छ ।
छलफलमा नेपाल विद्युत् प्राधिकरणका अवकाश प्राप्त इन्जिनियर चेतप्रसाद बरालले सुनकोशी–मरिण डाइभर्सन आयोजना अन्तर्गत प्रस्तावित मरिण–लखन्देही–बागमती डाइभर्सन अवधारणाको सम्भाव्यता अध्ययन सम्वन्धी प्रस्तुति प्रस्तुत गरे । उनले सिन्धुलीको मरिणबाट सर्लाहीको लखदेन्ही खोलाको सहायक खोलाका रुपमा रहेको नारायणखोलास्थित डाइनी खोलामा पानी झारेर सर्लाही र महोत्तरीको चुरेक्षेत्रलाई समेट्न सकिने विकल्प प्रस्तुत गरेका छन् ।
छलफलले सुक्खाग्रस्त क्षेत्रको रुपमा रहेको यि दुई जिल्लाको उत्तरी भेगलाई समेट्ने गरी आयोजना विस्तारिकरणीका लागि पहल गर्ने निर्णय गरेको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेले बताए । न्यौपानेका अनुसार आयोजना विस्तारिकरणका लागि पहल गर्न कार्यदल, सल्लाहकार समिति र विज्ञ समूह गठन गरिएको छ ।
लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारीको अध्यक्षतामा गठित कार्यदलमा हरिवन, बागमती र ईश्वरपुरका नगरप्रमुख, जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधि र सुनकोशी सामुदायिक सेवा समाजका प्रतिनिधि सदस्य रहेका छन् ।
त्यस्तै रक्षामन्त्री हरिप्रसाद उप्रेती, निवर्तमान खानेपानी मन्त्री महिन्द्रराय यादव, सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरी, पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठ, प्रदेश सभा सदस्य द्वय बेची लुङ्गेली र जवाहारलाल कुशवाहा सदस्य रहेको सल्लाहकार समूह गठन गरिएको छ । त्यसैगरी नेपाल विद्युत प्राधिकरणका अवकाश प्राप्त इन्जिनियर चेतप्रसाद बराल र नापी विज्ञ बलराम पोखरेल सदस्य रहेको विज्ञ समूह गठन गरिएको छ ।
छलफलमा सहभागीले खानेपानी र सिँचाईको चरम समस्याबाट गुज्रिएको उत्तरी बेल्टलाई समेट्ने गरी आयोजना विस्तारिकरणमा सबै लागिपर्नुपर्नेमा जोड दिएका लालबन्दी नगरपालिका–७, का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) ले बताए ।