मलंगवा, ११ चैत – सर्लाही सदरमुकाम मलंगवामा चैत ७ गतेबाट सुरु भएको ५ दिने निःशुल्क योग विज्ञान शिविरको आज समापन गरिएको छ ।
पतन्जली योग समिति मलंगवाको आयोजनामा तिनबिघे मैदानमा आयोजित योग शिविरको आज समापन गरिएको हो । योग शिविरमा जिल्लास्थित सुरक्षा प्रमुख, जनप्रतिनिधि, राजनीतिज्ञ, सामाजिक अगुवा, सुरक्षाकर्मी, पत्रकार, स्थानीयवासीलगायत उपस्थित भए ।
सहभागीहरुलाई पतन्जली योग समितिका केन्द्रिय प्रभारी लवदेव मिश्र, सहकेन्द्रिय प्रभारी अर्चना घिमिरे, प्रदेश महादर्शक तथा प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालगायत भएर ५ दिनसम्म योग गर्न सिकाए ।
यसैबीच ५ दिने योग शिविर समापनको अवसरमा आज विगत २ महिनादेखि मलंगवामा योग अभ्यासमा सहभागी भइरहेका ४२ जनालाई दिक्षित गरिएको छ । उनीहरुलाई सह–योग प्रशिक्षकको प्रमाण–पत्र प्रदान गर्दै दिक्षित गरिएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति कौशलकिशोर सिंहको संयोजकत्वमा १५ सदस्यीय जिल्ला स्तरीय पतन्जली योग समिति र त्रिलोकेन्द्र राय यादवको संयोजकत्वमा १५ सदस्यीय मलंगवा नगर स्तरीय योग समिति गठन गरिएको छ ।
त्यस्तै, शिवचन्द्र चौधरीको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति पनि चयन गरिएको छ । सल्लाहकार समितिको सदस्यमा सर्लाही क्याम्पसका पूर्व प्रमुख रामबाबु साहलाई राखिएको छ भने बाँकी ३ जना सदस्य पछि मनोनयन गरिने संयोजक चौधरीले बताए ।