लालबन्दी, १० चैत – ‘स्वस्थ जीवनका लागि योग साधना’ भन्ने मूल नारासहित लालबन्दीमा आज पतन्जली योग साधनाको उद्घाटन गरिएको छ ।
पतन्जली योग समिति लालबन्दीले अब यहाँ नियमित योग साधना संचालन गर्ने उद्देश्यसहित लालबन्दी ६ स्थित उद्योग वाणिज्य संघको सभा हलमा योग साधनाको समुद्घाटन कार्यक्रम गरेको हो । कार्यक्रमको पतन्जली योग समितिका केन्द्रिय प्रभारी लवदेव मिश्र, सह–केन्द्रिय प्रभारी अर्चना घिमिरे र प्रदेश महादर्शक तथा प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरेका छन् ।
योग प्रशिक्षक तथा प्रमुख जिल्ला अधिकारी धमलाले योग र आध्यात्माको महत्व प्रत्येक टोल र गाउँबस्तीमा पुर्याउन सके समाजमा सकारात्मकता संचार प्रवाह भएर जाने बताए ।
पतन्जली योग समिति लालबन्दीका अध्यक्ष माधवप्रसाद खरेलको अध्यक्षतामा आयोजित योग साधना समुद्घाटन कार्यक्रममा लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारी, उपमेयर कल्पनामाया पाख्रिन, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, रणशेर गण पाँचकुमारी ब्यारेकका गणपति सूर्यबहादुर कार्की, सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनाल, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख देवराज लिम्बु, उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकीलगायतको आतिथ्यता रहेको थियो ।
पतन्जली योग समिति लालबन्दीका सदस्य टीकाराम श्रेष्ठले संचालन गरेका कार्यक्रममा उपाध्यक्ष उद्धवप्रसाद पौडेलले स्वागत गरे । योग साधनाको समुद्घाटनकै अवसरमा केन्द्रिय प्रभारी मिश्र, सह केन्द्रिय प्रभारी घिमिरे, प्रदेश महादर्शक धमलाले सहभागीलाई आज साँझ केही समय योग अभ्यास गराएका छन् ।
लालबन्दीमा अब केही दिनपछि नियमित योग साधना गराउने तयारी भइरहेको पतन्जली योग समिति लालबन्दीका सचिव कृष्ण धमलाले जानकारी दिए ।