सीडीओ धमलालाई ज्ञापन पत्र बुझाउँदै होटल तथा पर्यटन व्यवसायी । (तस्बीर सौजन्य : कृष्ण सिंह)
मलंगवा, ०८ चैत – होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीले अनुमति अर्थात् इजाजत पत्र नलिई किराना र पान पसलबाट भइरहेको मदिराको बिक्री वितरण रोक्न माग गरेको छ ।
संघले आज प्रमुख जिल्ला अधिकारी (सीडीओ) कोमलप्रसाद धमलालाई ज्ञापन पत्र बुझाउँदै किराना पसल र पान पसलहरुमा खुलेयाम भइरहेको मदिराजन्य पदार्थको व्यापार नियन्त्रण गरिदिन माग गरेको हो । त्यस्ता अनुमती नै नलिएका पसलले मदिराको बिक्री गर्ने र विभिन्न घटना दुर्घटना हुँदा कानूनी हिसाबले संचालित होटल तथा पर्यटन व्यवसायीमाथि कडिकडाउ गर्ने गरिएको ज्ञापन पत्रमा उल्लेख छ ।
संघका जिल्ला अध्यक्ष राजेशकुमार शर्मा र महासचिव सन्तोष कुमार दासले हस्ताक्षर गरी बुझाएको ज्ञापन पत्रमा मदिराको खुलेयाम बिक्री वितरण रोकी आउँदै गरेको चाडपर्वलाई मर्यादित र शान्तिपूर्वक मनाउन पाउने वातावरण बनाउन पहल गरिदिन आग्रह गरिएको छ ।
त्यस्तै ज्ञापन पत्रमा हाल जिल्लाका विभिन्न स्थानहरुमा होटल संचालन गर्न दिइएको समय एक घण्टा थप गरी संचालन गर्न पाउने गरी सहजीकरण गरिदिन पनि ज्ञापन पत्रमार्फत प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरिएको छ । जिल्लाका होटलहरु अहिले राति ९ बजेसम्म खुल्ने गरेका छन् ।
व्यवसायीले राति १० बजेसम्म होटल खोल्ने समय मिलाइदिन माग गरेका छन् । ज्ञापन पत्र बुझाउन होटल तथा पर्यटन व्यवसायी संघका पदाधिकारी सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।