फाइल तस्बीर ।
लालबन्दी, ०८ चैत – सर्लाहीमा हिजोदेखि लगातार परिरहेको झरी आज बिहानबाट रोकिएको छ ।
हिजो बिहानदेखि आज बिहानसम्म नै यहाँ झरी परेको थियो । भारी वर्षा नभएपनि लगातार झरी परेकाले जमिन राम्रोसँग भिजेको किसानले बताएका छन् ।
यहाँ अहिले झरी पर्न रोकिएर घाम लाग्ने र बेलाबेलामा धाम्मधुम्म हुने भइरहेको छ । अहिले परेको पानीले मकै, गहुँसहितका हिउँदे बाली, तरकारी र आपँ, लिचीजस्ता फलफूललाई अमृत समान भएको भन्दै किसान खुसी छन् ।
आज बिहानबाट झरी रोकिएपछि किसान खेतबारीका काममा लागेका छन् । आकाशे वर्षाको भरमा खेती हुने जिल्लाको उत्तरी भेगका किसान अब बाँझो बारी जोतेर मकै रोप्ने सुरसारमा लागेका छन् ।
यो वर्ष चैत पहिलो सातामै जमिन भिज्ने गरी पानी पर्दा किसानलाई बेलैमा खेतबारी खनजोत गर्न सहज भएको छ ।
२४ घण्टासम्म परेको झरीले यहाँको वन जंगलमा लागेको डढेलो निभेको स्थानीयले बताएका छन् । वर्षापछि यस क्षेत्रमा धुलो, धुँवाको प्रदुषण तत्कालका लागि कम भएको छ ।