लालबन्दी, ०८ चैत – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा ट्रक र बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
गएसाँझ नवलपुरस्थित तिनकुने पार्क नजिक बागमती प्रदेश–०३–००१ ख ४३३ नम्वरको ट्रक र ना ४ ख ३२४ नम्वरको बस ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका ११ जनामध्ये ट्रकका चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३, बस्ने ४२ वर्षीय तोङश्री बहादुर गोलेको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
गोलेको उपचारका क्रममा गएराति नारायणी अस्पताल वीरगन्जमा मृत्यु भएको लालबन्दीका प्रहरी निरीक्षक हरिबोल केसीले जानकारी दिए । दुर्घटनाका अन्य १० घाइतेको नवलपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा परेका ट्रक र बस इलाका प्रहरी कार्यालय नवलपुरमा राखिएको प्रहरी निरीक्षक केसीले बताए ।