logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

एमाले सर्लाहीकाे प्रतिनिधि परिषद् बैठकमा पूर्वअध्यक्षले किन गरे मन्च बहिष्कार ?


  • उज्यालो अभियान

रेवती पन्त ।

बरहथवा, ०६ चैत – नेकपा एमाले सर्लाहीले गरेको प्रथम प्रतिनिधि परिषद बैठकमा पूर्व जिल्ला अध्यक्ष एवं पूर्व प्रदेश उपाध्यक्ष रेवती पन्तले मन्च बहिष्कार गरेपछि एमाले भित्रको असन्तुष्टि छताछुल्ल भएको छ ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, जिल्ला इन्चार्ज एवं कृषि मन्त्री ज्वालाकुमारी साह लगायतको उपस्थिति रहेको कार्यक्रममा पटकपटक बोलाउँदा पनि पन्त मन्चमा गएनन् । उनी आम कार्यकर्ता सरह स्रोता बनेर बसे । चैत ४ गते भएको कार्यक्रममा पन्तको असन्तुष्टिले बैशाख पहिलो साता हुने एमाले जिल्ला अधिवेशनमा पनि तरंग ल्याउने ठानिएको छ ।

पन्त ईश्वर पोखरेललाई मन नपराउनेमा पर्छन । उनले कार्यक्रममा महासचिव शंकर पोखरेललाई ल्याउनु पर्ने अडान राखेका थिए । तर जिल्ला नेतृत्वले ईश्वर पोखरेललाई बोलाउने तय भएपछि उनी असन्तुष्ट भएका हुन । पन्तले कार्यक्रमम वक्ता वन्ने आशा पनि गरेका थिए  । तर पार्टीका दुई जना केन्द्रीय सदस्यहरु नै वक्ता हुन नसकेको कार्यक्रममा पन्तलाई आयोजकले वक्ता बनाएनन् । आफूलाई मन नपरेको प्रमुख अतिथि बोलाएको र वक्ता पनि नबन्ने भएपछि उनी मन्चमा नगएर असन्तुष्टि पोखेका पन्त निकटले बताएका छन् ।

दुई कार्यकाल एमालेको जिल्ला नेतृत्व सम्हालेका पन्त हाल कुनै पदमा छैनन । पहिलो मधेस प्रदेश अधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने तयारी गरेका पन्तमाथि अचानक अख्तियारमा मुद्दा परेपछि उनी चुनावमा उठेनन । उक्त मुद्दामा पन्तलाई विशेष अदालतले दुई लाख धरौटी लिएर तारेखमा राखेको छ ।

मुद्दा परेपछि नैतिक कारणले उनी मधेस प्रदेशको चुनावमा उम्मेदवार भएनन । प्रदेश अधिवेशनकै पुर्वसन्ध्यामा मुद्दा पेश हुनुका पछाडि पार्टी भित्रकै केही नेताको षडयन्त्र भएको पन्तको बुझाइ छ । उनले आफू निकटसँग समय हेरेर आफूमाथि मुद्दा दर्ता हुनु संयोगमात्र नभएको बताउने गरेका छन् ।

प्रदेशका आठै जिल्लामा लोकप्रिय पन्त प्रदेश अध्यक्षमा जित्ने सबैभन्दा बलिया उम्मेदवार मानिएका थिए । पन्त भने आफू अहिले कुनै जिम्मेवारीमा नभएकाले सामान्य कार्यकर्ता झैं दर्शक दिर्घामै बसेको बताउँछन् । उनले आफु माथि विभिन्न षडयन्त्रको कारण मुद्दा लागेको र त्यसको सफाई पाएपछि मात्र पार्टीको कार्यक्रममा मन्चमा जाने बताए ।

जिल्ला प्रतिनिधि परिषद बैठकमा सामान्तयाः महासचिव आएर निर्देशन दिनु राम्रो हुने उनकाे जिकिर भए पनि वरिष्ठ उपाध्यक्ष बोलाइए पनि आफ्नो गुनासो नभएको उनको भनाइ छ । मन्चमा नगएर नेतृत्वलाई घुर्क्याएकाे हो ? भन्ने प्रश्नमा उनले त्यस्तो नभएको दावी गरे ।

प्रतिनिधि परिषदको बैठकमा देखिएका घटनाक्रमले एमाले जिल्ला अधिवेशनमा नेताका गुट हावी हुने देखिएको छ । अध्यक्षमा केपी ओली साझा नेता मानिए पनि त्यसभन्दा तलका नेताका गुट उपगुट जिल्ला अधिवेशनमा परिचालन हुने संभावना कार्यकर्ताले आकलन गरेका छन् ।

जिल्ला अधिवेशनलाई सर्वसम्मत बनाउने प्रयास भइरहेको सन्दर्भमा प्रतिनिधि परिषदको बैठकपछि चुनाव हुने संकेत देखिएको छ । गुटगट उम्मेदवारी पर्नसक्ने संभावनालाई नेता कार्यकर्ताले नकार्न सकेका छैनन । पार्टी अध्यक्ष राजनारायण साहले सबैलाई मिलाएर सर्वसम्मत नेतृत्व छान्ने प्रयास गरिरहेका छन । यद्यपी पछिल्ला घटनाक्रमले सर्वसम्मत नेतृत्व छनौटलाई कठिन बनाएको छ । केही नेताले आफूलाई जिल्ला अध्यक्षको उम्मेदवारको रुपमा आफूलाई अघि सार्न थालेको एक नेताले बताए ।

(साभार : वेभटिभीखबर)