logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

२ जना भारतीय `मस्ट वाण्टेड अपराधी’ पक्राउ,  २ प्रहरी सहित ३ जना घाईते


  • उज्यालो अभियान

पक्राउ परेका दुईजना मध्ये सन्नी कुमार सिंह । (तस्बिर : उज्यालाे अभियान)

पत्रकार सम्मेलनमा पक्राउ घटनाबारे जानकारी दिँदै एसपी दयानिधी ज्ञवाली । (तस्बिर : उज्यालाे अभियान)

मलंगवा, ०६ चैत – सर्लाही प्रहरीले २ जना भारतीय फरार `अपराधी’ लाई अमेरिकन पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोलि सहित पक्राउ गरेको छ ।

बरहथवा नगरपालिका-६ मगर टोलबाट इलाका प्रहरी कार्यालय बरहथवा र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट सादा पोशाकमा खटिएको संयुक्त टोलीले साेमबार राती उनिहरुलाई नियन्त्रणमा लिएकाे प्रहरी उपरीक्षक(एसपी) दयानिधी ज्ञवालीले जानकारी दिए । पक्राउ पर्नेमा भारत बिहार जिल्ला सितामढ़ी थाना सैयारा ग्राम सैयारा बस्ने लक्ष्मण सिंहको छोरा २८ वर्षीय सन्नी कुमार सिंह र  मोतिहारी गंगापिपरा बस्ने अशोक राउतको छोरा २४ वर्षीय जितेन्द्र कुमार राउत रहेका छन् ।

स्थानीय रामटहल महताेकाे घरमा डेरा गरि बसेकाे भन्ने विशेष सुराकीका आधारमा पुगेकाे प्रहरी टाेली देख्ने बितिकै जितेन्द्र कुमार राउतले आफ्नो साथमा रहेको मेड ईन यएसए लेखेकाे नाै एमएमकाे स्वचालित पेस्तोलबाट १ राउण्ड गोली फायर गरेको समेत एसपी ज्ञवालीले जानकारी दिए । एसपी ज्ञवालीका अनुसार तत्काल सुरक्षाकर्मीहरुले घेरा हालेर दुवैजना तथा उनिहरुकाे साथमा रहेकाे १ थान पेस्ताेल, ६ राउण्ड गाेली र फायर भएकाे १ थान खाेका समेत बरामद् गरिएकाे छ ।

नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मलंगवा ल्याउँदै गर्दा बसबरिया गाउँपालिका-६ पोखरीयाबाट ७०० मिटर अगाडी राउत प्रहरी भ्यानकाे पछाडीबाट भाग्न सफल भएका थिए । ज्ञवालीका अनुसार लगतै नियन्त्रणमा लिने क्रममा प्रहरीले राउतमाथि चाईनिज पेस्तोल टाईप ५४ बाट ५ राउण्ड फायर खोलिएकाे र निज त्यसक्रममा राउतको बाँया घुडा र दाहिने तिघ्रामा २ राउण्ड गोली लागेर उनी घाईते भएका छन् । उनकाे प्रादेशिक अस्पताल मलंगवामा प्राथमिक उपचार भईरहेकाे र थप उपचारका लागि मंगलबार बिहान जनकपुर पठाईएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता डीएसपी दिपेन्द्र पंजियारले जानकारी दिए ।

राउतलाई लखेट्ने एवं नियन्त्रणमा लिने क्रममा प्रहरी जवानद्वय रमेश विक र दिपेश चाैहान समेत लडेर सामान्य घाईते भएकाे जिप्रकाले जनाएकाे छ । उनिहरुकाे साथबाट BR06 AU 2018 नम्बरकाे भारतीय माेटरसाईकल समेत बरामद् भएकाे डीएसपी पंजियारले जानकारी दिए । एसपी ज्ञवालीका अनुसार पक्राउ परेका दुवैजना २ वटा कर्तव्य ज्यान, १ ज्यान मार्ने उद्याेग र एक लागूऔषध मुद्दामा भारतीय अदालतबाट दाेषि करार भई फरार रहेका हुन् ।

नेपाली भूमिमा समेत उनिहरुले बैंक तथा सहकारी लुटपाटमा संलग्न भएकाे तथा कसैकाे हत्या गर्न `सुपारी किलर’ काे रुपमा समेत आएकाे हुनसक्ने आशंका सहित सूक्ष्म ढंगले अनुसन्धान भईरहेकाे एसपी ज्ञवालीले जानकारी दिए । पक्राउबारे जानकारी दिन जिल्ला प्रहरी कार्यालय मलंगवामा आयाेजित पत्रकार सम्मेेलनमा ईलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी मुक्ति सापकाेटा, जिल्ला प्रहरी कार्यालय मलंगवाकी ईन्स्पेक्टर संगिता पाण्डे लगायतकाे उपस्थिती रहेकाे थियाे ।