बरहथवा, ०५ चैत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह र जनजीविकाको सवालमा प्रमुख भनिने राजनीतिक दलहरु पूर्णतः असफल भएको बताएका छन् ।
उनले राप्रपा विकल्प सहित जनताको माझमा आएको बताए । सर्लाहीको बरहथवामा आज आयोजित बृहत आमसभालाई सम्वोधन गर्दै यस्तो कुरा बताएका हुन् ।

अध्यक्ष लिङ्देनले मधेशले प्रधानमन्त्रीबाहेक राष्ट्रपति, उपराष्ट्रपति, महत्वपूर्ण मन्त्रालय प्राप्त परिसक्दा पनि मधेशका जनताको पक्षमा, मधेशी जनताको जीवनस्तर सुधार गर्ने दिशामा कुनै काम हुन नसकेको उल्लेख गरेका छन् । राप्रपाले आजदेखि चार दिन आठ जिल्लाको कार्यक्रम लिएर तराई मधेश क्षेत्रमा आमसभा, कार्यकर्ता भेला र काठमाडौं केन्द्रीत जनप्रदर्शन गर्नुपर्ने आवश्यकता र औचित्य प्रष्ट्याउन जनजागरणका विभिन्न कार्यक्रम तय गरेको छ ।
बरहथवामा राप्रपा अध्यक्ष लिङदेनको साथमा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा. धवलशमसेर राणा, महामन्त्री प्रल्हाद साह, प्रवक्ता ज्ञानेन्द्र शाही, मधेश प्रदेशका अध्यक्ष भरत गिरी, प्रतिनिधिसभा सदस्य बिना जयसवाल, बागमती प्रदेशका सांसद कुमारी स्याङतान, नेतृ खुस्बु ओलीलगायतले सम्वोधन गरेका छन् ।