बयलवास, ०५ चैत – सर्लाहीको ईश्वरपुर नगरपालिका ९ मा रहेको ईश्वरपुर बेला माध्यमिक विद्यालय रामनगर मनहर्वामा तोडफोड तथा चोरी भएको छ ।
विद्यालयमा रहेका चार थान डेक्सटप कम्प्युटर र विज्ञान प्रयोगशालामा व्यापक तोडफोडसँगै नगद ४४ हजार रुपैयाँ चोरी भएको हो । विद्यालयका अनुसार सोलार ब्याट्री तहसनहस पारेर क्षति पुर्याइएको छ ।
विद्यालयले करिव ५ लाखदेखि ७ लाख रुपैयाँ बराबरको चोरी भएको जनाएको छ । विद्यालयमा रहेका कक्षा १० तथा १२ का विद्यार्थीको महत्वपूर्ण कागजात समेत नष्ट गरिएको छ ।
लागूऔषधको कूलतमा फसेका युवाले यस प्रकारको हर्कत गरेको आशंका गरिए पनि पुष्टी हुन सकेको छैन् । इलाका प्रहरी कार्यालय केशरगन्ज बयलवासका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले विद्यालयमा भएको चोरीको घटनामा संलग्न व्यक्ति पहिचानका लागि खोलतलास अघि बढाइएको बताए ।
उनले शंकास्पद व्यक्तिमाथि प्रहरीले निगरानी गरिरहेको जानकारी दिए ।