कार्यक्रममा रक्षामन्त्री उप्रेतीसहितका अन्य अतिथि । (तस्बीर सौजन्य : मानवसेवा आश्रम)
हरिवन, ०५ चैत – मानवसेवा आश्रम सर्लाही शाखाले हालसम्म २४४ जनाको उद्धार गरेको छ ।
हरिवन नगरपालिका–१, कैलाशपुरीस्थित आश्रममा आज रक्षामन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा भएको आयव्यय विवरण र प्रगति प्रतिवेदन सार्वजनिक कार्यक्रममा २०७७ साल माघमा आश्रमको सर्लाही शाखा स्थापना भएदेखि अहिलेसम्म २४४ जनाको उद्धार गरेको जानकारी गराइएको हो । मानवसेवा आश्रमले सडकमा अलपत्र रहेका बेवारिसे व्यक्तिलाई उद्धार गरेर आश्रममा राखेर स्याहार गर्दै आइरहेको छ । उद्धार गरिएका २४४ जनामध्ये ८६ जनाको पारिवारिक पुनर्मिलन गराइएको छ ।
आश्रममा ल्याएर राखेपश्चात परिवार सम्पर्कमा आएका ८६ जनालाई पारिवारिक पुनर्मिलन गराइएको हो । त्यस्तै आश्रममा ल्याएर स्याहार र उपचारपश्चात सामान्य अवस्थामा फर्किएका ८७ जनालाई सामुदायिक पुर्नस्थापना गराइएको छ । त्यसैगरी उद्धार गरेर आश्रममा राखिएकामध्ये ११ जनाको निधन भएको छ ।
आश्रममा अहिले ५२ जना आश्रित रहेका मानव सेवाश्रम सर्लाही शाखाले जनाएको छ । मानवसेवा आश्रमलाई गत आर्थिक वर्ष २०७९/०८० मा २५ लाख ३२ हजार ७०० अठार रुपियाँ सहयोग प्राप्त भएकोमा ३८ लाख ४४ हजार ७०५ रुपियाँ खर्च भएको विवरण सार्वजनिक गरिएको छ ।
चालू आर्थिक वर्ष २०८०/०८१ को पुस मसान्तसम्म १३ लाख ८३ हजार १७२ रुपियाँ आम्दानी भएकोमध्ये १६ लाख ३४ हजार ७१ रुपियाँ खर्च भएको उल्लेख गरिएको छ । आश्रममा सहयोग तथा आम्दानी भन्दा खर्च धेरै देखिन्छ । ऋणबाटै आश्रम सञ्चालन भइरहेको पाइएको छ ।
हरिवनका नगरप्रमुख रमेश बुढाथोकी (कमल) को अध्यक्षता तथा रक्षामन्त्री उप्रेतीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नगर उपप्रमुख हरिमाया घलान, पूर्व प्रदेशसभा सदस्य डिल्लीप्रसाद उप्रेती, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालगायतको आतिथ्यता रहेको थियो । सहभागीले मानवता प्रवद्र्धन महाअभियान अन्तर्गत सञ्चालित मानवसेवा आश्रमको सेवामा सबैले सहयोग पुर्याउनुपर्नेमा जोड दिएका छन् ।