logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

८४ को निर्वाचनमा एमालेको एकल बहुमत : वरिष्ठ उपाध्यक्ष पोखरेल


  • उज्यालो अभियान

 

बरहथवा, ०४ चैत – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कुनै एक दलको बहुमत नहुँदा देश बर्बादीमा परेको बताएका छन् ।

बरहथवामा आइतबार नेकपा एमाले सर्लाहीको प्रथम प्रतिनिधि परिषद् बैठकलाई सम्वोधन गर्दै एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले अहिले कुनै पनि राजनीतिक दलसँग एकल बहुमत नहुँदा राजनीतिक स्थिरता कायम नभएर देश बर्बाद भएको तर्क गरेका हुन् । “कुनै दलसँग बहुमत नभएकाले अहिलेको स्थिति आएको हो,” उनले भने “राजनीतिक स्थिरता कायम नभएसम्म यही अवस्था रहिरहन्छ ।”

उनले छ÷छ महिनामा सरकार फेरिने समस्या दुःखद् रहेको बताए । पोखरेलले २०८४ को निर्वाचनमा नेकपा एमालेले एकल बहुमत ल्याउने दाबी गरेका छन् ।

आगामी निर्वाचनमा एमालेको लक्ष्य एकल बहुमत ल्याउने रहेकाले पार्टीका कार्यकर्तालाई जनतामाझ समस्या सुन्ने र त्यसको समाधान गर्ने काममा केन्द्रित हुन एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले निर्देशन दिए । उनले एमाले मजबुद भएपछि देशले निकास पाउने दावी गरेका छन् ।

एमालेका सचिव एवं मधेश प्रदेशका इन्चार्ज योगेशकुमार भट्टराईले आगामी निर्वाचनमा मधेश प्रदेशमा एमालेको उपस्थिति अझ बलियो हुने दावी गरे ।

कार्यक्रमलाई एमालेकी नेतृ तथा कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, रक्षामन्त्री हरिप्रसाद उप्रेती, मधेश प्रदेशका अध्यक्ष चन्देश्वर मण्डल, केन्द्रिय सदस्य कल्पनाकुमारी कटुवाल, जिल्ला अध्यक्ष राजनारायण साहलगायतले सम्वोधन गरेका छन् ।

पार्टीका जिल्ला उपसचिव प्रकाश थापाले संचालन गरेका कार्यक्रममा जिल्ला उपाध्यक्ष विदुरकुमार प्याकुरेलले एमाले सर्लाहीको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।

एमाले सर्लाहीले आसन्न नवौँ जिल्ला अधिवेशनको तयारी स्वरुप आइतबार जिल्लाभरका अगुवा नेता, कार्यकर्ताको उपस्थितिमा प्रथम प्रतिनिधि परिषद् बैठक सम्पन्न गरेको हो ।

आगामी बैशाख ६ गते सदरमुकाम मलंगवामा एमालेले नवौँ जिल्ला अधिवेशन गर्ने तयारी गरिरहेको छ ।