बरहथवा, ४ चैत – नेकपा एमाले सर्लाहीको प्रथम प्रतिनिधि परिषद् बैठक आज (आइतबार) बरहथवामा बस्दै छ ।
बैठकमा पार्टीको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरी त्यसमाथि छलफल गरेर कार्यकर्ताबाट राय, सुझाव संकलन गरिने एमाले सर्लाहीका उपाध्यक्ष विदुरकुमार प्याकुरेलले बताए । बरहथवास्थित जिएन पार्टी प्यालेसमा आयोजित बैठकलाई पार्टीका वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्वोधन गर्ने एमाले सर्लाहीले जनाएको छ ।
यस्तै पार्टीका सचिव योगेशकुमार भट्टराई, पोलिटब्यूरो सदस्य तथा कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साह, रक्षामन्त्री हरिप्रसाद उप्रेतीलगायतले सम्वोधन गर्ने एमाले जिल्ला उपाध्यक्ष प्याकुरेलले जानकारी दिए । उनका अनुसार बैठकमा ८ औँ जिल्ला अधिवेशनमा सहभागी साँढे ४ सय हाराहारीमा रहेका प्रतिनिधि, पार्टीका केन्द्रीय सदस्य, जिल्ला कमिटीका सदस्य, पालिका तथा वडा कमिटीका अध्यक्ष, एमालेबाट निर्वाचित जनप्रतिनिधिलगायत सहभागी हुने छन् ।
प्रथम प्रतिनिधि परिषद्को बैठकलाई भव्य बनाउन पार्टीका जिल्ला अध्यक्ष राजनारायण साहसहितका जिल्लास्थित नेताहरु र अगुवा कार्यकर्ता लागिपरिरहेका छन् ।