logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

हरिवन खानेपानीको सभा सम्पन्न, अर्को पनि डीप बोरिङ गरियो


  • उज्यालो अभियान

स्थानीय हरि प्रसाद सुवेदीले उपलब्ध गराएको जमिनमा नयाँ डीप बोरिङ गरिदै । (तस्बिर : उज्यालो अभियान)

हरिवन, ०३ चैत – हरिवन नगरपालिका वडा नम्बर ८ स्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिको चौथो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

समितिका अध्यक्ष एवं हरिवन-८ का वडाध्यक्ष प्रज्वल ढुंगानाको अध्यक्षता एवं हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) को प्रमुख आतिथ्यता रहेको सभामा उपप्रमुख हरिमाया घलान, वडा सदस्यहरु, नेपाली कांग्रेसका नेता डोर प्रसाद भट्टराई, विनोद कार्की, नेकपा एमाले नेता, विदुर प्याकुरेल, राजकुमार उप्रेती, चूडामणि वाग्ले, रामप्रसाद घिमिरे, निवर्तमान वडाध्यक्ष सिताराम पोखरेल, नेकपा एकीकृत समाजवादीका नेता भरत कुमार कार्की लगायतको आतिथ्यता रहेको थियो । समितिका सदस्य दिल बहादुर फूयाँलले संचालन गरेको सभामा कोषाध्यक्ष यशोदा भट्टराईले संक्षिप्त आर्थिक विवरण प्रस्तुत गरेकी थिईन् ।

समितिले आर्थिक वर्ष २०७९/०८० मा ४७ लाख ६० हजार ६०८ रुपैंया ६५ पैसा आम्दानी तथा ३५ लाख नौ हजार ४४२ रुपैंया ८४ पैसा खर्च भएको लेखा परीक्षण विवरण सभामा पेश गरेको छ । खर्च तथा आयकर कटाएर उक्त आर्थिक वर्षमा नौ लाख ३८ हजार ३७४ रुपैंया ३६ पैसा खुद नाफा भएको समिति अन्तर्गत कार्यालय प्रमुख विदुर सुवेदीले जानकारी दिए ।

यसैबीच समितिले अर्को डीप बोरिङ समेत गरेको छ । हाल सिंचाईको डीप बोरिङबाट खानेपानी ओभरहेड ट्यांकीमा लिफ्टिङ गरिरहेको र अब जिल्ला खानेपानी कार्यालयको सहयोगमा समितिको आफ्नै डीप बोरिङ सञ्चालनमा ल्याउने तयारी गरिएको सचिब नविन थापाले जानकारी दिए । अध्यक्ष ढुंगानाका अनुसार स्थानीय हरि प्रसाद सुवेदीले उपलब्ध गराएको ५ धुर जमिनमा ६०० फिट डीप बोरिङबाट ६० फिट लियरको पानी भेटिएको र अब पानी सफाई लगायत अन्य प्राविधिक कामहरु भईरहेको छ । तत्काललाई नयाँ बोरिङको पानी अहिलेकै ओभरहेड ट्यांकीमा जम्मा गरेर पानी वितरण गरिने र अर्को ओभरहेड ट्यांक निर्माणका लागि समेत पहलकदमी भइरहेको ढुंगानाले जानकारी दिए ।

२०५४ सालतिर स्थापना भएको समिति अन्तर्गत यसअघिका नेतृत्वहरुको लापरबाही एवं अकर्मण्यताका कारण २०८० सालमा जम्मा चौथो साधारण सभा मात्र हुन सकेको छ । त्यसमा पनि वडाध्यक्ष ढुंगानाले नेतृत्व सम्हालेपछि यसअघि विशेष र यो समेत दुईवटा सभा सम्पन्न भएको हो । हरिवन नगरपालिका वडा नम्बर ८ का निवर्तमान वडाध्यक्ष यज्ञविनोद ढुंगेल नेतृत्वको समिति माथि त विशेष साधारण सभाबाट गठित वर्तमान अध्यक्ष ढुंगाना नेतृत्वको ११ सदस्यीय छानविन समतिले लाखौं रकम बेरुजु नै देखाएको छ । ढुंगेल अघि डिल्ली प्रसाद उप्रेती लगायतको नेतृत्वको समितिबाट त कुनै जिन्सी तथा नगद बरबुझारथ नै नभएको देखिएको छ ।

हाल समितिले हरिवन नगरपालिका वडा नम्बर ८ र ११ का १६ सय ७० घरधुरीमा पानी वितरण गरिराखेको छ ।