logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सेना र गाउँले मिलेर डढेलो निभाए


  • उज्यालो अभियान

बागमती, ३ गते – सर्लाहीको बागमतीमा बस्ती नजिक आइपुगेको डढेलो नेपाली सेना र स्थानीय भएर निभाएका छन् ।

बागमती नगरपालिका–११, स्थित पशुपति सामुदायिक वन र हरिहरक्षेत्र सामुदायिक वनमा लागेको डढेलो बस्तीमा सल्कने जोखिम बढेपछि नेपाली सेनाको भैरवीदल गणका सेना र स्थानीय वासिन्दा भएर नियन्त्रणमा लिएका हुन् । हरियो स्याउलाले हिर्काएर तथा साबेलले माटो हालेर डढेलो निभाइएको हरिहरक्षेत्र सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भिमशेन थापाले जानकारी दिए ।

थापाका अनुसार हिजो र आज दुई दिन लगातार खटिएर डढेलो निभाउने काम गरिएको हो । बागमतीको चुरेभेगस्थित जङ्गलमा वर्षेनि लाग्ने डढेलो स्थानीय वासिन्दा मिलेर नियन्त्रणमा लिँदै आएका छन् ।

सुक्खापन बढेसँगै जिल्लाको चुरेभेगका पाखासँगै अन्य जङ्गलमा डढेलो लागिरहेका छन् । डढेलोका कारण वन छेउछाउका बस्ती जोखिममा परिरहेका छन् । केही ठाउँमा वन उपभोक्ता समितिले अगुवाइ गरेर डढेलो निभाइरहे पनि अधिकांश वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणभन्दा बाहिर छ ।

यहाँको सामुदायिक वनमा लागेको डढेलो उपभोक्ता समितिले नियन्त्रणमा लिने गरेपनि फूलजोर बाबा साझेदारी वन, लालबन्दी साझेदारी वन, जानकीनगर साझेदारी वनसहित साझेदारी वनमा लागेको डढेलो नियन्त्रणमा बेवास्ता गरिएको छ ।

सर्लाहीका डिभिजन वन प्रमुख मञ्जुर अहमदले वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा स्थानीय र उपभोक्ता नै बढी सक्रिय र सचेत हुनुपर्ने बताए । उनले वन कार्यालयसँग रहेका सिमित कर्मचारीले मात्रै जिल्लाभरका वनमा लागेको डढेलो नियन्त्रण गर्न असम्भव रहेको बताए ।