जिल्ला प्रहरी कार्यालय सर्लाही ।
मलंगवा, ०२ चैत – सर्लाही प्रहरीले विभिन्न अपराधमा अदालतबाट दाेषि करार भई फरार रहेका २०२ जनालाई पक्राउ गरेर शुक्रबार सर्लाही जिल्ला अदालतमा बुझाएकाे छ ।
दुईदिन यता जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएका २०२ जना फरार दाेषिहरुलाई जिल्ला अदालत सर्लाही बुझाईएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दयानिधी ज्ञवालीले जानकारी दिए । `सम्मानित जिल्ला, उच्च र सर्वाेच्च अदालतबाट दाेषि कायम भएका २०२ जना अपराधीलाई पक्राउ गरिएकाे हाे’, एसपी ज्ञवालीले उज्यालाे अभियानसँग भने, `दुई दिन भित्र पक्राउ परेका सबै जनालाई जिल्ला अदालत सर्लाहीमा बुझाईएकाे छ ।’
आपराधिक घटना गराएर अदालतबाट दाेषि करार भई सकेपछि पनि समाजमा निर्धक्क हिँडेर अपराधिक क्रियाकलापलाई बडावा दिने खालकाे प्रवृत्ति अन्त्य गर्न पक्राउ अभियान नै चलाईएकाे एसपी ज्ञवालीले जानकारी दिए । `अदालतबाट सजाय पाएपनि समाजमा निर्धक्कका साथ हिँडिरहेका फरार अपराधीहरुलाई नियन्त्रणमा लिएर कानूनकाे दायरामा ल्याउन अभियान नै चलाईएकाे छ’, एसपी ज्ञवालीले उज्यालाे अभियानसँग भने, `यस क्रममा दुई दिनमा २०२ जनालाई पक्राउ गरि सम्मानित जिल्ला अदालत समक्ष बुधबार बुझाईएकाे हाे, म आएकाे ३ साताकाे अवधीमा जिल्लाभरबाट ४०० जना भन्दा बढी फरार अपराधीहरुलाई अदालत बुझाईसकिएकाे छ ।’
एसपी ज्ञवालीका अनुसार पक्राउ पर्नेमा भ्रष्टाचार, जबरजस्ती करणी, अपहरण, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, मानव बेचबिखन, लागूऔषध, सवारी ज्यान, कुटपिट, चोरी, सम्बन्धविच्छेद, जुवा र गाली बेइज्जती मुद्दामा अदालतबाट सजाय ताेकिएका दाेषिहरु रहेका छन् । पक्राउ पर्नेहरुमा विभिन्न तहका अदालतबाट ५ दिनदेखि ३ वर्ष ६ महिनासम्म कैद सजाय तोकिएका र एक सय रुपैयाँदेखि ३ लाख ६३ हजारसम्म जरिवाना तोकिएका दाेषिहरु रहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
प्रहरी स्राेतका अनुसार अदालतबाट ताेकिएकाे जरिवाना तिरे नतिरेकाे, कैद भुक्तानी तथा जेल चलानकाे अवस्था आदि बारेमा बुझ्न तथा लिखित कागजात तयार पार्न जिल्ला प्रहरी कार्यालय मलंगवाका अधिकृत सहित सुरक्षाकर्मीहरुलाई शुक्रबार दिनभर भ्याईनभ्याई थियाे । सर्लाहीमा एकसाथ यति धेरै संख्यामा फरार दाेषिहरुलाई नियन्त्रणमा लिएर प्रहरीले अदालतमा बुझाएकाे याे नै पहिलाे घटना हाे ।